दुई महिला बन्दीको सरूवा
नेपालगन्ज : नेपालगन्ज कारागारले यहाँका महिला चौकीदारमाथि आन्तरिक अनुसन्धान तथा छानबीन थालनी गरेको छ । कारागारमा रहेका महिला बन्दीहरूले चौकीदार ललिता रेग्मीले आफूहरूमाथि नमिठो बोली बोल्दै दुव्र्यवहार गरेको, गुणस्तरहीन खाना दिएको लगाएका आरोप लगाउदै शुक्रबार आन्दोलन नै गरेपछि चौकीदार रेग्मीमाथि अनुसन्धान थालनी गरिएको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेल बताउँछन् ।
शुक्रबार विहानैदेखि आन्दोलित कारागारका महिलाहरू बन्दीले चौकीदार फेरबदल गर्नुपर्ने लगायतका माग गरेका थिए । दिनभरजसो तानवमा रहेको कारागारमा शुक्रबार बेलुका कारागार प्रशासनले चौकीदार रेग्मीमाथि अनुसन्धान गर्ने वचन दिएपछि उक्त आन्दोलन रोकिएको पौडेल बताउँछन् ।
उनका अनुसार रेग्मीमाथि छानबीन भइरहेको छ । कारगारमा फेरि अप्रिय घटछना नहोस् भने शुक्रबार आन्दोलनमा धेरै भूमिका खेल्ने महिला बन्दी भगवती राना र प्रेमा चन्दलाई बाँकेबाट अन्यत्र सरूवा गरिएको छ ।
जेलर पौडेलले दिएको जानकारी अनुसार महिला बन्दी रानालाई नवलपरासी र चन्दलाई पाल्पा सरूवा गरी शुक्रबार साँझ नै पठाइसकिएको छ ।
गएको १४ कार्तिकमा पुरूष बन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरालगायतको सरूवा गरेका थिए । मंसिर यता बाँके कारागार जेलरविहीन भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको बताएका छन् । तर, ती जेलर अहिले पनि कारागार बाँकेमा आएका छैनन् ।