विकल्पबिनै सुकुम्बासीका घरटहरामा डोजर

वडाअध्यक्ष कृष्ण कार्कीले दादागिरी मच्चाएको आरोप


विकल्पबिनै सुकुम्बासीका घरटहरामा डोजर

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० ले दादागिरी शैलीमा गायत्रीनगरमा सुकुम्बासीमाथि आक्रमण गरेको छ । ती सुकुम्बासीले मत दिएर जिताएका वडाअध्यक्ष कृष्ण कार्कीको निर्देशनमा गायत्रीनगरका सुकुम्बासीका घरटहरामा डोजर लगाएर भत्काइएको स्थानीयले बताएका छन् ।

वडाअध्यक्ष कार्कीको दादागिरीशैली र प्रहरीको ज्यादतीमा आर्दश माध्यमिक विद्यालय राँझाको जमिनमा बनाइएका घरटहरामा विकल्पबीनै डोजर लगाईएको स्थानीयको आरोप छ ।

सुकुम्बासीले ओगटेको जमिन सरकारी नियन्त्रणमा वा स्वामित्वमा लिनु ठिकै होला तर, घरटहरा बनाएर बसिरहेका नागरिकको अर्को विकल्प नदिएर यसरी उठिबास लगाउनु कुनै पनि हालतमा वडाअध्यक्ष कार्कीको सकारात्मक काम नभएको मनिकापुरका जानकारहरू बताउँछन् ।

‘यहाँ १४ घरगोठमा डोजर चलाइएको छ । विद्यालयको आग्रहमा वडा कार्यालयले ती घरगोठ भत्काएपनि यहाँका सुकुम्बासीलाई विकल्प दिनुपर्ने थियो’ राँझाका एक व्यवसायीले भने ‘विकल्पबीनै एक्कासी यसरी चिसो मोसममा घरटहरामा डोजर लगाउनु मानवीय काम भएन् ।’ यहाँ तीन विघा सात कठ्ठा १४ धुर जग्गामा वर्षौंदेखि सुकुम्बासी र भूमिहीनका नाममा ७६ घरपरिवार बस्दै आएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

विद्यालय र त्यहाँ बसेका बासीन्दाबीचमा लामो समयदेखि विवाद, मुद्दा मामला चलिरहेको थियो । विद्यालयले हेलो सरकारमा उजुरी गरेपछि गृह मन्त्रालय हुँदै स्थानीय प्रशासनले अतिक्रमण हटाउने आदेश दिएअनुरूप आफूले प्रक्रिया अघि बढाएको वडाअध्यक्ष कार्की बताउँछन् ।

हेलो सरकारको जे जस्तो आदेश भएपनि विकल्प बीनै दादागिरी शैलीमा वडाअध्यक्षले नै डोजर चलाउने आदेश दिनुले मतदाताको भावनामा चोट पुगेको मनिकारपुरका एक युवाले नाम नछाप्ने शर्तमा बताए । वडाअध्यक्षले शुक्रबार भत्काइएका घर खाली रहेको दाबी गरेपनि यहाँका स्थानीयले ती प्रायः घरमा मानिसहरू बसिरहेको जिकिर गरेका छन् ।

मानिसहरूले भोगचलन गरिरहेको घरटहरामा वडाध्यक्ष कार्कीले दादागिरीशैलीमा डोजर चलाएर सुकुबासीलाई महासुकुम्बासी बनाएको उनीहरूको भनाई छ ।

यहाँका सुकुम्बासी महिलो घर छोड्न नमानेपछि वडाअध्यक्ष कार्कीको निर्देशनमै नेपालगन्जबाट महिला प्रहरी मगाइएको र ती प्रहरीले वडाअध्यक्षको आदशेपछि सकुम्बासी महिला जो घरटहरामै थिए उनीहरूलाई जर्बरजस्ती बाहिर निकालेको एक प्रत्यदर्शीले शनिबार सेतोखरीसँग बताए ।

२०३६ सालमा विद्यालयको नाममा भनिएको उक्त जमिन अहिलेसम्म प्रयोगविहीन थियो । जहाँ सकुुकम्बासी मात्र बसिरहेका थिए ।
करिब १० वर्षदेखि विद्यालयको जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई विकल्पबीनै हटाउँदा नेपालगन्ज उपमहानगरपालिका रमिते बन्दै उदासिन देखिएको छ ।

तर, सुकुम्बासीको नाममा गैरसुकुम्बासीले विद्यालयको जग्गा कव्जा गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य बताउँदै आएका छन् ।