पत्रकारिताको धर्म निर्वाह गरेबापत एकजना पत्रकार आइतबार मात्रै कोहलपुरमा मरणासन्न हुने गरी चुटिए, कुटिए, घाइते बनाइए । त्यो पनि सत्तासिन राजनीतिक दल नेकपाद्वारा संरक्षित युवा दस्ताका सदस्यबाट । सांघातिक हमलाको सिकार हुने पत्रकार सरकारको नेतृत्व गर्ने राजनीतिक दलका सदस्यहरूको कोपभाजनमा परेका छन् । यी कलमजीवीको ’गल्ती’ सायद सम्बन्धित पक्षसितको बिमतिबारेको सूचना हुनु र त्यही तथ्यको सार्वजनिक खुलासा गर्नुबाट भएको अनुमान गरिएको छ । यद्दपी सत्य बाहिरीएको छैन् ।
पत्रकार पिटिइनु, बेपत्ता गरिनु, थुनिनु र मारिनु लोकतान्त्रिक नेपालमा अति नै सामान्य घटना भएको छ । पत्रकार कुटिनु वा असुरक्षित हुनु राजनीति र अपराधको अन्तरनिहित अनि अन्तरसम्बन्धकै परिणति हो । यसैले हुन सक्छ विश्वका १३ वटा अत्यधिक जोखिमयुक्त मुलुकहरूको दाँजोमा पत्रकारहरूको निम्ति नेपाल सातौं भयावह देश ठहरिएको छ । लोकतान्त्रिक मुलुकमा पत्रकारहरू असुरक्षित हुनु भनेको उक्त पद्धतिको तुषारापात हुनु मात्र होइन, जनताको सुसूचित हुने अधिकारको संवाहक भई लोकतन्त्रको जगेर्ना गर्ने पहरेदारको अन्त्य हुने परिस्थितिको सिर्जना गर्नु पनि अन्त्य हुनेछ ।

जसबाट अपराध प्रवृत्तिले प्रश्रय पाउनुका साथै मुलुकबाट वाक् स्वतन्त्रता र सूचनाको अधिकार हरण हुने सम्भावना बढेको छ । विगतमा थुप्रै पत्रकारहरू आफ्नो पेसागत मर्यादा पालना गर्ने सन्दर्भमा हताहत हुनुका साथै मारिएका पनि छन् । कृष्ण सेन, डेकेन्द्र थापा, वीरेन्द्र साह र उमा सिंह यसका केही उदाहरण हुन् । समाजप्रतिको संवेदनशीलताको अभावमा ती अकाल मृत्युवरण गर्नुपरेकाहरूप्रति राजनीतिक संज्ञा शून्यता नै र¥यो । किनकि नेपालमा कुसंस्कृतिमा हुर्केको राजनीतिबाहेक अरूको केही पनि उल्लेखनीय हुँदैन ।
पत्रकार कुटिने र मारिने यसैबाट पुष्टि हुन्छ । तर, हामी कहाँ अपराधलाई प्रश्रय दिने साथै गैरकानुनी तथा अनुचित कार्यलाई प्रोत्साहन गर्ने प्रयत्न त राजनीतिक पदाधिकारीबाटै हुने गरेका प्रशस्त प्रमाणहरू छन् । यसको पछिल्लो उदाहरण ‘ कोहलपुरमा आइतबार नेकपाका प्रदेश कमिटी सदस्य पुजन विश्वकर्माको निर्देशनमा उनका गुण्डाले पत्रकार संगीन शर्मामाथि गरेको आक्रमणलाई लिन सकिन्छ ।’
सर्वहारा वर्गको उत्थान र तिनीहरूबाटै स्थापित राज्य व्यवस्थाको परिकल्पनासाथ संघर्षमा उत्रिएका तत्कालिन माओवादीमा आबद्ध वश्व्कर्मा आफूलाई कोहलपुरर क्षेत्रको नेता ठान्छन् । । तर, आज त्यही सर्वहारा वर्गको अधिनायकत्वमा रमाउने राजनीतिक दलका नेताहरू सत्ता र शक्तिको उन्मादमा आफ्ना सहयात्री तथा पत्रकारमाथि नै गुण्डा प्रयोग गर्न पनि हच्केका छैनन् ।
सूचनाका संवाहक पत्रकार कुटिनु, पत्रपत्रिका जलाइनु, पत्रिका कार्यालयहरूमा तोडफोड र आगजनी गर्नु, थुनछेक अनि हत्या गर्नुका साथै अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा समेत नल्याउनु तर संगठित अपराध मौलाउने काममा सत्तासिन राजनीतिक दलकै पृष्ठपोषण देखिएको छ । सरकार र यस्तै गुण्डापालन गर्ने नेताहरूले राज्यशक्तिको दुरूपयोग गरी र तिनैबाट पत्रकारहरूको सिकार गर्छन् । पत्रकार त पेसागत निष्ठाका पुजारी हुन् । सूचना प्रवाह र जनसम्पर्कद्वारा राज्य, सरकार र आम मानिसबीच सेतुको काम गनेृ उनीहरूको दायित्व हो ।
पत्रकारहरूले जोखिम मोलेर पनि सही सूचना प्रवाह गरेको दृष्टान्त जनयुद्धताका जनताले अनुभव गरेकै छन् । निश्चय पनि पत्रकारहरू पनि मुलुकको कानुनकै बन्दी हुन्छन् । तर, आजको नेपाली पत्रकारिता मिसन पत्रकारिता मात्र सीमित छैन । यो पेसा अति नै व्यावसायिक भइसकेको छ । साँचो अर्थमा भन्ने हो भने नेपालमा लोकतन्त्रको सर्वथा महत्वपूर्ण उपलब्धि भन्नु नै पत्रकारिता पेसाको प्रतिस्पर्धात्मक उत्थान हो । त्यसैले अब मनगढन्ते कुरा लेखेर पत्रकारिता चल्दैन । पत्रकारहरू समाजप्रति राजनीतिज्ञ र तिनका ताबेदारभन्दा बढी उत्तरदायी हुन्छन् । किनभने उनीहरू कतै चुके भने समाज नै दिग्भ्रान्त हुन सक्छ ।
तर, आजभोलीका नेताहरू पैसा र गुण्डाको भरमा राजनीतिमा उत्रिएका छन् । यीनलाई कमाउने र रमाउने भन्दा अरू कुराको ज्ञान र चिन्ता केही छैन् । त्यसैले त नेकपाका प्रदेशतहका नेताले आफू कुशलता पत्रकारमाथि गुण्डा लगाएर प्रर्दशन गरेका हुन् । पत्रकामाथि गुणडा लाएर बहादुरी गरेको भान गर्ने नेताले कोहलपुरका सडकगल्लीमा मुख कसरी देखाउँलान । उनको राजनीत कसरी अघि बढ्ला । नेकपा बाँकेले उनीमाथि के कतो र कहिले कारवाही गर्ला ? प्रदेश कमिटीको अबको भूमिका के रहला ? यी अबका प्रश्न हुन् ।
विना कारण पत्रकारमाथि आक्रमण गर्ने र गर्न लगाउने दुवैलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ । राज्यको चौथो अंग पत्रकारीतामाथिको यो आक्रमणमा कोहलपुर प्रहरी प्रशासन पनि बेखबर देखिएको छ । प्रहरी प्रशासनले तत्काल दोषीको खोजी गरि गुण्डापाल्ने नेता र पत्रकार कुटपीटमा संलग्न गुण्डालाई कानूनी कारवाही गर्न आबश्यक छ । नेताको दुरावस्था र नेकपाको दुर्गतिको चित्रण यसबाहेक अरू केबाट सप्रसंग व्याख्या गर्न सकिएला र ?