नेपालगन्ज: बाँके लगायत देशभर विविध कार्यक्रम गरि पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती मनाईंदैछ ।
प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराई २०१६ सालमा प्रतिनिधिसभाका सभामुख बनेका थिए । २०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन अन्त्य गरेपछि भट्टराई अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो । विक्रम सम्बत् १९८१ पुस ८ गते भारतको बनारसमा भट्टराईको जन्म भएको थियो ।
नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए । २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन हुँदा उनी संस्थाका महामन्त्री रहेका थिए ।
नेपाल अधिराज्यको संविधान, २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने लगायतका महत्वपूर्ण दायित्व भट्टराईले सफलतापूर्वक बहन गरेका थिए । तर, आफू प्रधानमन्त्री भएकै बेला गराएको २०४८ को आम निर्वाचनमा भट्टराई स्वयं काठमाडौंबाट पराजित भएका थिए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि उनी पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।
स्वर्गीय भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रुपमा स्मरण गर्ने गरिन्छ । सरल जीवन व्यथित गर्ने भट्टराई आफ्नो आध्यत्मिक चिन्तनका कारण सबैमाझ लोकप्रिय थिए ।