नेपालगन्ज : समाजवादी पार्टीले सरकार छाडेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।
उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रूपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा मंगलबारकै मितिबाट लागू हुने गरी उपप्रधान एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’
सहरी विकासमन्त्रीले राजीनामा दिनुपर्ने कारण उल्लेख नगरी संविधानको व्यवस्थाअनुसार राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । सहरी विकासमन्त्री राईले सहकार्य गर्ने अवसर दिएकोप्रति सरकारलाई धन्यवाद दिँदै राजीनामा दिएका छन् ।
‘उपरोक्त सम्बन्धमा मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नु भई कामकाजको जिम्मेवारी दिनुभएकोमा नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा पत्रमा राईले लेखेका छन, ‘सहकार्य गर्ने अवसर दिएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।’