बाँके, बर्दिया कर्णालीमा मिसाउँन आन्दोलन तयारी
नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशले स्थायी राजधानी तोक्न आलटाल गरिरहेको बेला वामगठबन्धनका नेताबिच प्रदेश राजधानीका बारे खिचातानी गर्न थालेका छन् । यसअघि प्रदेश पाँचको मूख्यमन्त्रीको बहस उत्रिएका वाम गठबन्धन आवद्ध एमाले र माओवादी केन्द्र अहिले प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी कहाँ बनाउने भन्ने बहसमा उत्रिएका छन् ।
गठबन्धनको दोस्रो तहका नेताहरू नै प्रदेशको राजधानी आ–आफुतिर खिच्ने अभ्यासमा लागेका छन् । दाङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वा्चित माओवादी नेता कृष्णबहादुर महराले प्रदेश ५ को राजधानी दाङ हुनुपर्ने यसअघि अडान लिदै आएका थिए । तर, अहिले उनी कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
तत्कालिन नेकपाका नेता विष्णु पौडेलले प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी वुटवलमा नबनाए आन्दोलन चर्काउने चेतावनी दिदै आएका छन् । अहिलेपनि पौडेल लगायतका अधिकांश नेताहरूको प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी बुटवल नै बनाइनु पर्ने अडान छ । यसर्थ दोस्रो बरीयताका वामपन्थी नेताको बाहुल्य रहेको प्रदेशमा राजधानी कहाँ बनाउने विषय पेचिलो बन्दै गएको छ । निर्वाचनका समयमा बुटवल र दाङलाई प्रदेश राजधानी बनाउने जोडबलसहित चुनावी प्रचार गरेका नेता अहिले संकटग्रस्त अवस्थामा छन् ।
एउटै पार्टीका नेता राजधानीको विषयमा विभाजित भएपछि राजधानी तोक्ने मुद्दा झन् पेचिलो बनेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले प्रदेश राजधानी बुटवलमै भए बाँके बर्दियालाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनले दाङसम्म भए मनलागि नलागी स्वीकार्न सकिने भएपनि बुटवललाई प्रदेश राजधानी कुनैपनि हालतमा स्वीकार्न नसकिने अडान लिएका छन् ।
उनले यदि प्रदेशको राजधानी बुटवल नै हुने भए बाँके, बर्दियाका नागरिक कर्णाली प्रदेशमा जाने उद्घोषपनि गरिसकेका छन् । यसै उद्घोषका साथ बुधबार मेयर राणाको संयोजकत्वमा १७ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन गर्ने भएको छ । उक्त समितिमा नेकपा, काँग्रेस, राप्रपा लगायत दलको सहभागीता रहेको छ ।
बैठकले कर्णालीमा समायोजनको लागि बाँके र बर्दियाका सांसद, दल र सरोकारवाला देखि जनतासँग छलफल चलाउने तयारी गरेको छ ।
सहमतिका आधारमा बाँके, बर्दियाको माग पुरा नभए कर्णाली प्रदेशमा जानका लागि सडकदेखि संसदसम्मको आन्दोलन गर्ने संयोजक राणाले चेतावनी दिएका छन् । प्रदेशको अस्थायी राजधानी कहाँ राख्ने विषयमा पूर्वाधार अध्ययन समितिले बुटवल र दाङका भौतिक संरचनाको अध्ययन गरेको छ ।
प्रदेशसभाका ८७ जना सांसदले राजधानी र नामकरण गर्नेछन् । भूगोलको पक्षधर भएर मत जाहेर गरेमा प्रदेश राजधानी बुटवल हुने करिब निश्चित छ । तर, समानुपातिकमा छानिने ३५ जना सांसद कुन क्षेत्रका हुनेछन् भन्ने विषयले पनि यसमा निर्भर गर्ने जानकारहरू बताउँछन् ।