ट्रक दुर्घटना, तीन जनाको मृत्यु


ट्रक दुर्घटना, तीन जनाको मृत्यु

नेपालगन्ज: बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट रड लिएर धनगढीतर्फ जाँदै गरेको लु२ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजे नियन्त्रण गुमाएर पल्टिएको ईलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ ।

ट्रकमा चालक, सहचालक र दुई महिला यात्री रहेकोमा तीन जनाको मृत्यु भएको हो भने घोराही–११ निवासी चालक कर्णबहादुर चौधरी घाईते छन् । उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज ल्याईएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बर्दियाको सञ्चार शाखाले दिएको जानकारी अनुसार गुल्मी घर भएका अन्दाजी २५ वर्षीय सहचालक निमबहादुर सार्कीसहित दुई महिलाको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै महिलाको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार ती दुवै महिला कुसुमबाट उक्त ट्रकमा चढेको अनुसन्धानबाट खुलेको छ । उनीहरुको ठेगाना र कहाँ जान लागेका थिए भन्नेबारे अझै खुल्न नसकेको बर्दिया प्रहरीले जनाएको छ । ट्रक पल्टिएर च्यापिएको अवस्थामा जेसीबीको सहयोगमा उद्धार गरिएको प्रहरीको भनाइ छ । उद्धारका क्रममा चालक घाईते अवस्थामा फेला परेको र अन्य तीन जनाको दुर्घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।