नेपालगन्ज: नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगन्जमा चुनावी सरगर्मी बढेकोछ । चिसो मौसमलाई चुनौती दिदै उम्मेदवार निर्वाचनमा होमिएकाछन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन आगामी माघ ११ गते हुदैछ । चुनाव नजिकिँदै गर्दा चुनावी सरगर्मी चुलिएको छ । व्यवसायीहरु दुई समूह बनाएर चुनावी मैदानमा होम्मिएका छन् ।
समावेशी समूह र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह नाम दिएर उनीहरु चुनावी मैदानमा होम्मिएका हुन् । समावेशीको नेतृत्व अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले गरेका छन् भने साझा प्रजातान्त्रिकको नेतृत्व ललित कुमार रौनियारले गरेकाछन् । दुबै समूहका उम्मेदवारहरुलाई यतिवेला घरदैलोको चटारो छ । मतदाता भेट्न उनीहरुलाई भ्याई–नभ्याई छ ।
संघको आगामी कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये चार जना नेपालगन्ज धम्बोझीस्थित रेडियो सद्भावका सञ्चालक सदस्य छन् । समाबेशी प्यानलबाट अध्यक्षका उम्मेदवार चुन्ना रेडियो सद्भावका सञ्चालक सदस्य हुन् । यस्तै संघको वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष समेत रहेका चुन्नाको नेपालगन्जमा अजिज किराना स्टोर्स रहेको छ । किराना व्यवसायी संघ बाँकेका संस्थापक अध्यक्ष चुन्ना लायन्स क्लब अफ सिद्धिविनायकको पूर्व अध्यक्ष समेत हुन ।
त्यस्तै साझा प्रजातान्त्रिक समूहबाट सदस्य पदका उम्मेदवार मख्खन बहादुर धामी रेडियो सद्भावका बोर्ड अफ डाइरेक्टर हुन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पूर्व स्ववियु सदस्य धामी नेपालगन्जको निकिता इन्टरप्राइजेजका प्रबन्ध निर्देशक हुन् । उनी लायन्स क्लब अफ नेपालगन्जका कोषाध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका आजीवन सदस्य समेत हुन् ।
समावेशी समूहबाट सदस्यका उम्मेदवार टंक बहादुर धामी रेडियो सद्भावका सञ्चालक सदस्य हुन् । कमल गार्मेन्ट उद्योगका प्रबन्ध निर्देशक धामी संघको वर्तमान कार्यसमिति सदस्य समेत हुन् । उनी कमल इन्टरप्राइजेजको निर्देशक, सिद्धिविनायक अर्डर एण्ड सप्लायर्सका प्रोप्राइटर, मनिषा ट्रेड लिंकका डाइरेक्टर, रामारोशन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष पनि हुन ।
यसैगरी रेडियो सद्भावका सञ्चालक सदस्य न्युरोडस्थित लुम्बिनी इन्टरप्राइजेजका प्रोप्राइटर विष्णुबहादुर श्रेष्ठ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट सदस्य पदका उम्मेदवार हुन् । उनी जुत्ता चप्पल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष, जुमा स्पोर्ट्स क्लब नेपालगन्जका आजीवन तथा कार्यसमिति सदस्य, नेवाः पुचः बाँकेका सल्लाहकार तथा नेवाः देय देबुका केन्द्रिय परिषद् सदस्य समेत हुन् । उनीहरु चारै जना उद्योगी व्यवसायीहरु माझ लोकप्रिय युवा व्यवसायीको रुपमा परिचित छन् ।