प्रदेश ३ को राजधानी हेटौडा, नाम बागमती
नेपालगन्ज :प्रस्तावित लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपन्देहीको बुटवलमै हुने पक्कापक्की भएको सूचना बाहिरएको छ । तर, बुटवल राजधानी बनाउँदा बाँके र बर्दियालाई अन्याय नै हुनेछ । त्यही भएर बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्ने तयारी गरिएको स्रोतले बताएको छ ।
यसका लागि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले बाँके, बर्दियालाई कर्णालीमा गाभ्न अभियाननै चलाईसकेका छन् । यसमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि बाँके, बर्दियालाई कर्णालीमा स्वागत गर्न आफूहरू आत्तुर रहेको बताएका छन् । यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव बिष्णु पौडेल समेत यस बिषयमा सकारात्मक देखिएका छन् ।
यसैअनुरूप नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश संरचना फेरबदलको संकेत गरेको छ । कतिपय प्रदेशले प्रदेश संरचनाकै कारण नाम र राजधानी तोक्न नसकेपछि सत्तारुढ दल नेकपाले संरचना फेरबदलको संकेत गरेको हो ।
‘बाँके र बर्दिया कर्णाली प्रदेशमा जान्छन्, बारा, पर्सा र रौतहट वाग्मतिमा आउँछन्’, अध्यक्ष दाहालले भने ‘रामेछाप, सिन्धुली र दोलखा मधेसमा जान्छन् ।’ नेकपा शीर्ष नेताहरुले धेरै सोच बिचार गरेर मात्र हेटौडा राजधानी राख्ने निर्णय गरिएको बताएका थिए । प्रदेश संरचना हेरफेर गरेपछि हेटौडा लगभग उपयुक्त राजधानी हुने जिकिर शीर्ष नेताहरुले गरेका थिए ।
बाँके, बर्दिया कर्णालीमा, रामेछाप, सिन्धुली र दोलखा मधेसमा राखिए र बारा, पर्सा र रौटहट बाग्मतिमा ल्याए प्रदेशको संरचना हिमाल र पहाडको मिश्रण हुनेछ । हिमाल, पहाड र तराईको मिश्रण गराउने नेकपा नेताहरुले यस्तो निर्णय लिने संकेत गरेका छन् ।
यसैबीच प्रदेश ३ को राजधानी र नाम टुङ्गो लागेकोछ । अन्तत नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो ।
बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र बागमतीमा सहमति भएको जनाएकाछन् । ‘राजधानी हेटौंडा र नाममा बागमती सहमति भएको छ’ मुख्यमन्त्री पौडेलले भने ।
यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए ।