दैलेख : माथिल्लो कर्णाली जलविद्युत आयोजना नजिकै बम विष्फोटन भएको छ । जिएमआर कार्यालय रहेको कर्णाली नदी पारी अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका –३ को खैरीटाकुरीमा शुक्रबार राती सवा १० बजेतिर बम विष्फोटन भएको दैलेखबाट पत्रकार भक्तबहादुर शाही बताउँछन् ।
उनकाअनुसार विप्लव समुहले बम विष्फोटन गराएको हुन सक्ने आशंका गरिएको छ । बम विष्फोटनपछि जिएमआर अपरकर्णाली छोड, राष्टघाती सम्झौता खारेज गर भन्ने नाराजुलुस लगाएको स्थानीयबासी जनकबहादुर शाही उदृत गर्दै पत्रकार शाहीले बम विष्फोटनको जिम्मा मौखिक रूपमा विप्लव निकटका कार्यकर्ताले लिएका छन् । तर, यसको आधिकारिक धारणा प्रेस विज्ञप्ती मार्फत मात्रै दिने विप्लव समुहका अछाम सेक्रेटरी भरत बम बताउँछन् ।
उनले भने, ‘दलाल र भ्रष्टाचारी राष्ट्रघाती सरकारले राष्ट्रघाती सम्झौता गरेर देशलाई परनिर्भर बनाउन खोज्यो । हाम्रो प्राकृतिक स्रोत साधनमा विदेशीको हालीमुहाली हुन नदिने कुनै पनि हालत माथिल्लो कर्णाली आयोजना सञ्चालन हुन दिदैनौं । हामीले देशलाई परनिर्भर हुन बचाउन लागेका छौं ।
विद्युतको नाममा भारतले पानी माथि गिद्ध नजर लगाएको हो ।’ बम विष्फोटपछि जिएमआर कार्यालयमा रहेको सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । आयोजनाको प्रभावित क्षेत्र गस्ति थालिएको पाल्तडा स्थित प्रहरी चौकीले बताएको छ ।
वित्तिय कारोबार जुटाउन नसकिने अन्यौलमा रहेको अपरकर्णाली बंगलादेश सरकारले उत्पादित ५०० मेगावाट बिजुली २५ वर्षसम्म किन्ने प्रस्ताव अनुमोदन गरेसँगै आयोजनाको काम अघि बढ्ने आशावादी भएका स्थानीयमा शक्रबारको बम विस्फोटले निराशा छाएको दैलेख डाबका मनबहादुर शाही बताउछँन् ।
घटनाको विस्तृत बुझनका लागि दैलेख सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली डाबतर्फ गएको दैलेखका पत्रकार महेन्द्र सापकोटाले जानकारी दिए ।
यहाँबाट उत्पादित बिजुली बंगलादेश पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७ सेन्ट अर्थात झन्डै ८ रूपैयाँ ८० पैसामा किन्ने सहमति गरेको छ । यसले जएमआर कम्पनीलाई निर्माणका लागि बाटो खुलेको थियो ।
लामो समयको छलफल र वार्तापछि माथिल्लो कर्णालीमा उत्पादित बिजुली किन्ने निर्णयलाई बंगलादेश सरकारले स्वीकृति दिएपछि प्रभावित क्षेत्रका बासिन्दा आयोजना बन्नेमा आशाबादी रहेको अछाम तुर्माखाँद गाउँपालिकाका धनबहादुर विसी बताउँछन् । भारतीय भूमिमा भारतीय ट्रान्समिसन लाइन प्रयोग गरेर बिजुली बंगलादेश निर्यात हुनेछ ।