रौनियार प्यानलद्वारा १७ बुदेँ प्रतिबद्धता सार्वजनिक


रौनियार प्यानलद्वारा १७ बुदेँ प्रतिबद्धता सार्वजनिक

प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह । तस्विर : सेतोखरी

नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा चुनावी गतिविधिले तिव्रता पाएकोछ । आगामी माघ ११ गते हुने संघको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरु मतदाता रिझाउन लागिपरेकाछन् ।

निर्वाचन मिति नजिकिएसगैं उम्मेदवारहरुले मतदाता लक्षित विभिन्न गतिविधि सञ्चालन गरिरहेकाछन् । संघको निर्वाचनका लागि व्यावसायिका दुई समुहले प्यानलगत उम्मेदवारी दर्ता गराइ चुनावी मैदानमा होमिएका छन् ।

माघ ११ गते नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमार्फत आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिदैछ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको प्रचार कार्यालय भानुभक्त चोक न्यूरोडमा शुक्रबार एक समारोहका बीच उक्त प्रतिबद्धता–पत्र सार्वजनिक गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाई, नेपाली काँग्रेस बाँकेका उपसभापति सुनील नरसिंह राणा, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौेडल, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका पूर्वअध्यक्ष जगदीश बैश्य, काँग्रेस नेता सुरेश कनोडियालगाायतले सामुहिकरुपमा ७ पृष्ठ लामो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीबाट सार्वजनिक गरिएको प्रतिबद्धतामा रौनियार समूह विजयी भए उद्योगी व्यवसायीहरुको सुरक्षा र सम्मान गर्ने, उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको घट्दै गएको विश्वास पुनः फर्काउने लगायतको प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रतिबद्धता पत्रमा संस्थागत विकासदेखि पेशागत तथा बिषयगत संघसंस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ । व्यवसायिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकासलाई विस्तार गर्ने, सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने, सूचना र सञ्चार पारदर्शीताको आधार भन्ने नारालाई चरितार्थ गर्ने सझा प्रजातान्त्रिकद्वारा जारी प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको अल्पकालीन तथा दीर्घकालीन रणनैतिक योजना तथा कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने, संघको विधान अक्षरसः पालन गर्दै संघको मानमर्यादालाई उच्च बनाउनुका साथै विधानमा भएको कमी कमजोरीलाई विधानमा संशोधन समायानुकूल सुधार गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै प्रचार संयोजक धु्रब प्रसाद दाहालले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर अस्तव्यस्त नेपालगन्ज बजारलाई व्यवस्थित गरिने उल्लेख गरे ।

यस्तै प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै संघका पूर्वअध्यक्ष अच्युत प्रसाईले उद्योग बाणिज्य संघको गरिमा जोगाउन रौनियार प्यानल जित्नुको विकल्प नभएको बताए । संघमा परिपक्व नेतृत्व जरुरी छ उनले भने–‘रौनियार प्यानल सक्षम र योग्य छ ।’

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णु लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । यस्तै अजय कुमार टण्डन, सुुनील सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्रसिंह सरदारलाई सदस्य पदका उम्मेदवार बनाएकोछ ।
कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्षका प्रत्यासी रौनियार र पूर्व अध्यक्ष प्रसाईले दिएका थिए ।

यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै समाबेसी उद्योगी व्यवसायी समुहले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको बुझिएकोछ ।