नेपालगन्ज:अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनका लागि बजार दौडाहामा हिँडेको समावेशी प्यानलले मतदाता समक्ष आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । उम्मेदवारहरु यतिखेर प्रचार प्रसारका लागि पसल पसलमा दौडिरहेका छन् । अध्यक्षका उम्मेद्वार अव्दुल वाहिद मन्सुरीले उद्योगी व्यवसायीको हितमा आफु अहोरात्र खटने बताए ।
शनिवार समावेशी प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उद्योगी व्यापारीको हकहितमा अगाडी बढ्ने जनाएको छ । प्रतिवद्धतापत्रमा नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न नसकेको भन्दै त्यसका लागि आफुहरु लागि पर्ने जनाइएको छ ।
नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट , रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना भएको प्रतिवद्धतापत्रमा भनिएको छ ।
बाँकेमा ठुला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख पर्दा तत्काल परिचालन हुने ‘हेल्प टिम’ बनाउने जस्ता विषय प्रतिवद्धता पत्रमा समेटिएको छ । यसका लागि लगानीकर्तालाई आकर्षित गर्न पहलकदमी पनि आवश्यक देखिएको भन्दै समावेशी प्यानलले देश र विदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।
लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्ने र लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिच्ने अपेक्षा गरिएको छ ।
त्यस्तै उद्यमी व्यवसायीहरुलाई पर्न आउने व्यवसायीक पिरमर्काहरुलाई शिघ्र सम्बोधन गर्न संघका पदाधिकारीकै नेतृत्वमा सूचना पाउना साथ तत्काल परिचालन हुने गरी ‘हेल्प टिम’ बनाउने र उक्त टिम उद्योगी, व्यवसायीको समस्या समाधान गर्न अहोरात्र खटिन तयार हुने प्रतिवद्धता व्यक्त गरिएको छ ।
समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, निर्वाचन परिचालन समितका संयोजक आईपी पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यलगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उद्योगी व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गर्दै रात्रीकालीन सडक बजारलाई ब्यवस्थापन गर्ने र नेपालगञ्ज शहरलाई व्यवस्थित बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ । त्यस्तै सामाजिक उत्तरदायित्वतर्फ ४ र ब्यावसायिक समस्यातर्फ १० गरी १४ बुँदा उल्लेख गरिएको छ ।
माघ ११ गते हुने संघको निर्वाचनमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वमा उद्योग उपाध्यक्षमा आदेश कुमार अग्रवाल र बाणिज्य उपाध्यक्षमा ज्ञानेन्द्र कुमार श्रेष्ठलाई अघि सारेको छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः टंक बहादुर धामी, अब्दुल वाहिद अन्सारी (बब्लु), श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेशकुमार वैश्य, धर्मराज अर्याल, विजय भण्डारी (बासु), जहाँगीर मुसलमान, सुनिलकुमार बनिया, मन्दिरा पाण्डे र भिम बहादुर रानाभाट रहेका छन् ।