साझा प्रजातान्त्रिकका उम्मेदवारलाई जिताउने राजपाको प्रतिबद्धता


साझा प्रजातान्त्रिकका उम्मेदवारलाई जिताउने राजपाको प्रतिबद्धता

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुन अब पाँच दिन बाँकी छ । संघको निर्वाचनलाई लिएर उद्योगी व्यापारीहरुले आफ्नो चुनावी गतिविधिलाई तिव्रता दिएकाछन् । आगामी माघ ११ गते हुने संघको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरु मतदाता रिझाउन कम्मर कसीरहेकाछन् ।

संघको निर्वाचन मिति नजिकिएसगैं उम्मेदवारहरुले मतदाता लक्षित विभिन्न गतिविधि सञ्चालन गरिरहेकाछन् । संघको निर्वाचनका लागि व्यावसायीका दुई समुहले प्यानलगत उम्मेदवारी दर्ता गराई चुनावी मैदानमा होमिएका छन् ।

माघ ११ गते नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमार्फत आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिदैँछ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह तथा अब्दूल वाहिद मन्सुरी ‘चुन्ना’ समावेशी उद्योगी व्यवसायी समुहले आफ्नो प्रतिबद्धता–पत्र यसअघि सार्वजनिक गरिसकेकाछन् ।

उम्मेदवारहरु यतिखेर प्रचारप्रसारका लागि पसल–पसलमा दौडिरहेका छन् । चुनावी माहोल चुलिदै जाँदा साझा प्रजातन्त्रिक उद्योगी व्यवसायी समुहलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जिताउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

राजपा पार्टी कार्यालय रानीतलाउमा आईतबार साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका अध्यक्षका उम्मेदवार ललित कुमार रौनियारलाई स्वागत गर्दै राजपा नेपालले नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा साझा प्रजातान्त्रिक समूहका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाएको हो ।

सोक्रममा राजपाका केन्द्रिय उपाध्यक्ष विजयकुमार गुप्ता, सह–महामन्त्री कृष्ण खरेल, राप्रपा नेपालका जिल्ला अध्यक्ष लक्ष्मीनारायण बर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्मा लगायतले उम्मेदवारहरुलाई जिताउन खेल्नुपर्ने भूमिकाका विषयमा ब्यापक छलफल गरेका थिए ।

राजपाले यसअघि नै विज्ञप्ति जारी गरेर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारलाई समर्थन गर्ने जनाइसकेको थियो । माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ ।

यस्तै अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्ती मगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहेका छन् ।