काठमाडौँ : अधिवक्ता दिनेश त्रिपाठीले आईतबार व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका छन् ।
प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ ।
माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ ।
यस सम्बन्धी अर्को मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागेको भन्दै केही अधिकारकर्मीले विरोध समेत गर्दै आएका छन् ।
यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ । ७ गतेको सभामुखको मनोनयन दर्तामा उनको मात्रै उम्मेदवारी परेकाले अब सापकोटा औपचारिक रुपमा सभामुख भएको घोषणामात्रै बाँकी छ । आईतबार बस्ने प्रतिनिधि सभाको बैठकले उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्ने कार्यसूची रहेको छ ।