नेपालगन्ज:प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिएका छन् । सभामुखको कार्यभार सम्हालेलगत्तै सोमबार विज्ञप्ति जारी गर्दै सापकोटाले नेकपाबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम सोमबार सभामुखको पदभार ग्रहण गरेपछि नेकपाको साधारण सदस्यसमेत नरहने गरी सापकोटाले नेकपाबाट राजीनामा गरेका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटा नेकपाको स्थायी कमिटी सदस्य रहेका थिए । सापकोटाले राजीनामा दिदै सभामुखको भूमिका स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्ने बताउदै सोमबार जारी विज्ञप्तिमा बताएकाछन् ।
‘यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउदँछु’ सापकोटाबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ ।