कोहलपुर: नेपाल सरकारले भारतबाट क्वारेन्टाइन गरेर मात्रै खसी भित्रिन दिने नीति लिएको छ ।आन्तरिक ओसारपसारमा समेत कागजपत्र अनिवार्य छ । तर, क्वारेन्टाईन विनै खसी नेपाल भित्रिने गरेको गुनासो बढेपछि यस्तो तथ्य बाहिर आएकोछ ।
बाँके, बर्दियालगायत पश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँ पठाउन थालिएका खसी सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिरिएको हो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बाँकेको सम्झनाचोक र चप्परगौडीबाट खसी नियन्त्रणमा लिइएको थियो । भारतबाट खसी भित्रिने र त्यसको नक्कली कागजात बनाएर वा कागजपत्र नै नबनाई काठमाडौँ पठाउने गरेको गुनासो आइरहेका बेला बसमा राखेर लगिँदै गर्दा प्रहरीले सोमबार बिहान २९ वटा खसी आफ्नो नियन्त्रणमा लियो ।
प्रहरीले आफ्नो नियन्त्रण लिएको खसी कैलालीको फर्म, बर्दियाबाट स्वास्थ्य जाँचको कागज र अन्यत्रबाट लोड गरेर खसी लैजान थालिएको भेटाएको छ ।
यस्तै कोहलपुर प्रहरीले आईतबार बोलेरो र बसमा राखेर खसी लैजादैं गर्दा ८३ वटा खसी समातेको थियो । केही दिनअघि अगैया र कुसुमबाट २ सय ५७ वटा खसी प्रहरीले नियन्त्रणमा लिएको थियो । कागजपत्र नहुने र भए पनि नक्कली हुने भएकाले कोहलपुर प्रहरीले खसी समात्दै भन्सार कार्यालयमा बुझाइरहेको छ।
कोहलपुर प्रहरीले कागजपत्र बिना र नक्कली कागजपत्र बनाएर खसी ओसारपसार गर्न नदिने नीति लिएको छ । ईलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले खसी ओसारपसारमा कागजपत्र हेर्ने गरिएकाले क्वारेन्टाइन विनै ओसारपसार भइरहेका खसी समातिन थालेको बताए ।