कोहलपुर : राष्ट्रमुखी निर्माण सेवा कोहलपुरले कोहलपुर नगरपालिकामा तालाबन्दी गरेकोछ । सडक निर्माणको काममा पाउनु पर्ने रकम नपाएको भन्दै राष्ट्रमुखी निर्माण सेवाले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेको हो ।
तालबान्दीका कारण नगरपालिकाको काम १ घण्टा प्रभावित बनेको थियो । कोहलपुरको त्रिपुरा गण देखी गोरखा स्कुल हुँदै इन्द्रेणी चोकसम्म जाने सडक निर्माणका लागी राष्ट्रमुखी निर्माण सेवाले जिम्मा पाएको थियो ।
करिब २ करोड ६ लाख बराबर सडक निर्माणको जिम्मा पाएको राष्ट्रमुखी निर्माण सेवाले रनिङ्ग बीलमा ६५ लाख मात्र भुक्तानी पाएको सेवाका प्रबन्धक निर्देशक गौरव रावलले बताए ।
कोहलपुर नगरपालिका र राष्ट्रमुखी निर्माण सेवा बिच भएको सम्झौता अनुसार सडक निर्माण गरिएको थियो । आफुले पाउनुपर्ने रकम नपाएपछी बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको रावलले दावी गरे ।
उनले भने– ठेक्का सम्झौतापछि हामीले आफ्नो काम सम्पन्न गरेकाछौं, आफूले पाउनुपर्ने रकम भुक्तानीका लागि ताकेदा गर्दा सम्म अटेरी गरेपछि तालाबन्दी गरेका हौं ।’
नगरपालिकामा तालाबन्दी भएपछि उत्पन्न वातावरणलाई शान्त पार्न कोहलपुर नगरपालिका जनप्रतिनिधी, कर्मचारी र निर्माण सेवा कम्पनी बिच छलफल भएपछि १ घण्टापछी ताला खोलिएको थियो ।