नेपालगन्ज:बाँके–बर्दियालाई कर्णालीमा गाभ्न गठित संघर्ष समितिले अभियानलाई तिव्रता दिएकोछ । बाँके–बर्दियालाई कर्णाली प्रदेशमा सामेल गराउने तयारी स्वरुप नेपालगन्जमा थालिएको संघर्षसमितिले मङ्गलबार बाँके–बर्दियाका जनप्रतिनिधीसंघ समन्वयात्मक बैठक बसेकोछ ।
बाँके–बर्दियालाई कर्णालीमा समायोजन गर्नका लागि आन्दोलनको तयारी समन्वय गर्ने समितिको आयोजनामा सर्वपक्षिय छलफल गरेको हो ।
नेपालगन्जमा भएको बैठकमा उपस्थित बाँके–बर्दियाका जनप्रतिनिधीले कर्णाली प्रदेशमा जान उपयुक्त भएको भन्दै आन्दोलनमा ऐक्यवद्धता रहने प्रतिवद्धता जनाएका छन् ।
बैठकमा बर्दियाका जनप्रतिनिधीले कर्णाली प्रदेशमा समायोजनका लागि बर्दियाका मुद्दा पनि समावेश गरेर अघि बढ्न सुझाव दिए ।
नेपालगन्जको हितका लागि बर्दिया पछि लागेर आन्दोलनमा सहभागी हुन नसक्ने भन्दै उनीहरुले बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिदा हुने उपलब्धी दुबै जिल्लाबासीलाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।
बैठकमा सहभागी बर्दियाको मधुवन नगरपालिकाका प्रमुख गणेश केसी कृष्ण, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी र उपाध्यक्ष हिमा थारु तथा गुलरिया नगरपालिकाका उपप्रम्ुख सुशीला गिरीले बर्दियाबासी कर्णाली प्रदेशमा गाभिनुपर्ने बताएका थिए ।
यस्तै बैठकलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले भने –‘यो राजनीतिक एजेण्डा भन्दा पनि जनताको आवश्यक्ताको एजेण्डा हो, यसको नेतृत्व सवैले लिनुपर्छ । अब बाँके र बर्दियालाई मिलाएर संयुक्त संघर्ष समिति बनाईनुपर्छ ।’
उनले भने –‘राजनीतिक दल भनेका जनताका दल हुन्, जनताले कुरा राखेपछि उनीहरु आउनैपर्छ,’ मेयर राणाले थपे–‘राजनीतिक दलले गर्देला र होला भन्ने अपेक्षा राख्नु गलत हो । चाहाना सवैको छ, हामी नतातिदा केही हुदैन ।’
बैठकमा नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष सफिक वेहना लगायतले बाँके–बर्दिया कर्णाली प्रदेशमा गाभिनुको विकल्प नभएको बताए । उनीहरुले यसका लागि चरणबद्ध सशक्त अभियान चलाउन सम्बद्ध सवैको साथ र सहयोग लिनुपर्ने बताएका थिए ।
बैठकमा सहभागी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता मोहम्मद याकुब अन्सारी, नेकपाका रत्न खत्री र विजय गुप्ता, जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, अधिकारकर्मी रविन्द्र कर्ण लगायतले बाँके–बर्दियाको सुन्दर भविष्यका लागि कर्णाली प्रदेशमा जानैपर्ने धारणा राखे ।
उनीहरुले कर्णाली प्रदेशमा गाभिए सबैभन्दा बढि फाईदा थारु, मधेसी र मुस्लिम समुदायलाई हुने दावी गरे । समितिले दबाबमुलक आन्दोलनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने, दुवै जिल्लाका सम्बद्ध सरोकारवालासंग परामर्स लिने, साझा एक्यबद्धता सहितको विभिन्न कार्यक्रम गर्नेछ ।
अभियान अन्तर्गत माघ २० गते नेपालगन्जमा वृहद भेला हुनेछ भने बर्दियामा पनि समन्वय बैठक हुने नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।