नेपालगन्ज : बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा कोरोना भाइरस परीक्षणको व्यवस्थापनमा निस्किएका दुई जना कर्मचारी दुर्घटनामा घाईते भएका छन् ।
जमुनाहा नाकामा कोरोना भाइरस संक्रमण परीक्षणका लागि सोमबार बिहान दश बजे निस्किएका नेपालगन्ज उपमहानगरपालिका कर्मचारी चढेको मोटरसाईकल गणेशमान चोकमा दुर्घटना हुँदा स्वास्थ्य शाखाका गणेश कार्की र जागेश्वर बस्नेत घाइते भएका हुन् ।
कार्कीको बायाँ खुट्टा र हातमा चोट लागेको छ भने बस्नेतको बायाँ खुट्टा र दाहिने हात फ्याक्चर भएको छ । भे ६ प ७५२५ नम्बरको मोटरसाईकलमा चढेका स्वास्थ्यकर्मीलाई भेटनरी कार्यालयको भे १ बा ३०४ नम्बरको गाडीले चोकमा ठक्कर दिएको बताइएको छ । दुबै जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भएको छ ।
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सीमानाका जमुनाहामा सोमवारदेखि संक्रणम अवस्थाको परीक्षण गर्ने तयारी गरिएको थियो ।
नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट आउने बिरामी वा शंका लागेका व्यक्तिहरुको जाँच गरी सम्भावितलाई अस्पताल रिफर गर्ने बताइएको छ ।
डेस्कले दुई वटा इन्फारेड थर्मोमिटर प्रयोगबाट बिषेश गरी बिरामी, रुघा खोकी लागेका र शंकास्पद व्यक्तिको परीक्षण गर्नेछ ।
कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’सञ्चालनमा ल्याइएको छ । सीमानाका हुँदै नेपाल भित्रिनेमा भाइरसको संक्रमण भए÷नभएको जाँच गरिने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेल बताउँछन् ।