नेपालगन्ज : बाँकेको कोहलपुरमा छाला काढिएको अवस्थामा जिउँदो बाच्छो फेला परेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ दशविगाहा नजिकै शरिरको माथिल्लो भागको छाला काढिएको अवस्थामा स्थानीयले गाईको बाच्छा फेला पारेका हुन ।
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर नजिकै रहेको हेलिप्याड नजिकै छाला काढिएको अवस्थामा घाईते बाच्छा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्ट बताउँछन् ।
करिब एक वर्ष उमेरको उक्त बाच्छाको शरीरका केही भागमा गहिरो चोट समेत देखिएकाले जंगली जनावरले आक्रमण गरेको हुनसक्ने विष्टले बताए ।
विष्टका अनुसार अस्पताल नजिकैका स्थानियले बाच्छा कराएको आवाज सुनेका थिए । यद्यपी घटनाको वास्तविकता अहिलेसम्म खुल्न नसकेको बताउँदै विष्टले अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जानकारी दिए । स्थानीयले भने ‘नियतवस बाच्छाको छाला काढिएको हुनसक्छ ।’ उनीहरूले यस्तो घृणित कार्यमा संलग्नको पहिचान गरी कारवाही गर्न माग समेत गरेका छन ।
घाईते बाच्छाको पशु चिकित्सकले घटनास्थलमै उपचार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बाँके जिल्ला प्रवक्ता श्रीधर सुवेदीले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
आफ्नो फेसबुक मार्फत सुवेदीले घटनामा संलग्न ब्यक्तिको पहिचान गरी कारवाही गर्न स्थानीय सरकार तथा प्रशासनलाई आग्रह गरेका हुन ।