नेकपाको विशेष अभियान: कोहलपुरबाट शुरू

प्रचण्डको सम्बोधनमा पत्रकारलाई प्रवेश निषेध


नेकपाको विशेष अभियान: कोहलपुरबाट शुरू

नेपालगन्ज: नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश विशेष अभियानको तयारी कोहलपुरबाट शुरू गरेको छ । आगामी चैत एक गतेदेखि शुरू हुने प्रदेशहरुको विशेष अभियानका लागि आईतबार प्रस्तावित लुम्बिनी प्रदेश अन्तगर्त बाँकेको कोहलपुरबाट यसको थालनी गरिएको हो ।

आईतबार दिउँसो बाँकेको कोहलपुरमा औपचारिक कार्यक्रम गरी अभियानको शुरूवात गरिएको प्रस्तावित लुम्बिनी प्रदेशका अध्यक्ष ओनसरी घर्ती बताउँछिन् ।

उक्त कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत शीर्ष नेताहरु सहभागी थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उक्त कार्यक्रममा सहभागी हुने चर्चा गरिएपनि आइतबारको कार्यक्रममा विविध कारणले ओली सहभागी हुन नसकेको उनले बताईन् ।

एकता सन्देश स्थानीय तहसम्म लैजाने उद्देश्यले पार्टीले आगामी चैत एक गते देखि सुरु गर्न लागेको प्रदेश स्तरीय अभियानका यो प्रदेशबाट शुरू भएपनि अन्य प्रदेशले आफ्नो अनुकुलतामा अभियानको पुर्वतयारी थाल्ने भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बिषेश अभियानको अवधिभर बैठक, प्रशिक्षण र सभा गर्ने नेकपाको तयारी रहेको घर्तिले जानकारी दिइन् । गएको माघ १५ गतेदेखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रचण्डले संयुक्त रूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव समावेश थियो ।

उक्त प्रतिवेदनका आधारमा नेकपाले अभियान सञ्चालन गर्न लागेको हो । चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरूप संगठित सदस्यता नवीकरण गरिने भएको छ ।

चैतको एक गतेदेखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुनेछ । अभियानपछि आगामी वर्षको भदौदेखि मंसीरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गरी चैतमा पार्टीको महाधिवेशन गर्ने नेकपाले निर्णय गरेको छ ।

प्रचण्डको सम्बोधनमा पत्रकारलाई प्रवेश निषेध
बाँकेको कोहलपुरमा आइतबार भएको नेकपाको प्रदेश भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले सम्बोधन गरेका छन् । तर, उक्त सम्बोधनको समाचार संकलनमा पत्रकारलाई कार्यक्रमस्थलमै प्रवेश निषेध गरिएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थाापाले सम्बोधन गर्ने कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारलाई आयोजकले कार्यक्रमस्थलबाटै पत्रकारलाई बाहिर निकालेका थिए । यसले बाँकेका पत्रकार समाचार संकलनबाट बञ्चित भएका छन् ।

प्रस्तावित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरे लगत्तै कार्यक्रम सञ्चालक प्रदेश कमिटी सचिव ‘अपार’ले पत्रकारलाई कार्यक्रम स्थलबाट बाहिर पठाएका थिए ।

प्रचण्ड लगायत शिर्षनेताको सम्बोधन सुन्ने र रिर्पोटिङ् गर्ने योजनाका साथ कार्यक्रमस्थलमा रहेका पत्रकारलाई बाहिर लखेटेर नेकपाले समाचार संकलनमा अवरोध तथा कार्यक्रमस्थलमा प्रवेश निषेध गरेको थियो ।

समाचार संकलनका लागि गएको पत्रकारलाई कार्यक्रमस्थलबाटै बाहिर लखेट्दा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले कुनै प्रतिक्रिया दिएनन् । तर, महासचिव पौडेलले घुमाउँरो पारामा पत्रकारलाई यसरी समाचार संकलनबाट बञ्चित गराउँन राम्रो पक्ष नभएको संकेत दिएका थिए ।

नेकपाको यस किसिमको कार्यले बाँकेका पत्रकार अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको समाचार संकलनबाट बञ्चित भएका छन् । कार्यक्रम स्थलमै रहेको नेकपा निकट पत्रकार समेत चुपचाप लागेर गेट बाहिर निस्किएका थिए ।

पार्टी अध्यक्षको सम्बोधनकै क्रममा पत्रकारलाई कार्यक्रम स्थलबाट बािहर पठाउँनु र समाचार संकलनमा रोक लगाउँनु सकारात्मक पक्ष नभएको नेकपाका युवा नेता सुर्य ढकाल बताउँछन् । उनले यस बिषयमा आफू गम्भीर भएको र पार्टीको जिल्ला र प्रदेश तहका नेता समक्ष यो कुरा राख्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेल बोलिसकेपछि उद्घोषक अपारले पत्रकारलाई कार्यक्रम स्थलबाट बाहिर जान निर्देश गरेपछि आक्रोसित बनेका पत्रकारहरुले प्रचण्डको सम्बोधन रिपोर्टिङ्ग गर्न पाउनुपर्ने जवाफ दिएपछि अन्ततः प्रचण्ड बोल्दा मात्रै केही पत्रकारलाई कार्यक्रम स्थलमा जान दिइएको नेकपा स्रोत बताउँछ । तर, उद्घोषकको निर्देशनपछि अधिकांस सञ्चारकर्मीहरु कार्यक्रम स्थलबाट बाहिरि सकेका थिए । यसैले पनि अध्यक्ष प्रचण्डको सम्बोधनको समाचार संकलनबाट पत्रकारहरु बञ्चित भएकाछन् ।

सुरक्षा व्यवस्था कडा
बाँके कोहलपुर सुरक्षा व्यवस्था आईतबार बिहानैदेखि कडा पारिएको छ । नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका उच्च तहका नेताहरु कोहलपुर आएसँगै सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कोहलपुरका डिएसपी कुलदीप चन्द बताउँछन् ।
नेकपाको देशव्यापी विशेष अभियानको उद्घाटन गर्न प्रचण्डसहितका नेताहरु कोहलपुर आएका हुन् । नेकपाका प्रदेश र स्थानीय नेता तहका कार्यकर्ताहरु आइतबार कोहलपुरमा भेला भएका छन् ।

अभियानको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य समारोहका बीच शुरुवात गरिएको छ । कोहलपुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालित गरिएको छ ।

प्रदेशका १२ जिल्लाबाट आउने नेता कार्यकर्ताहरुलाई बस्ने र खानेको व्यवस्था स्थानीय जनताको घरहरुमा गरिएको छ । आवास व्यवस्थापन संयोजक बसन्ती अधिकारीले कार्यकर्तादेखि मुख्यमन्त्रीसम्मलाई जनताको घरमा आवासको व्यवस्था मिलाइएको बताइन् ।

यसैबिच पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा जान नदिएको भन्दै सयौं कार्यकर्ताले प्रवेश गेट नजिक असन्तुष्टि पोखेका थिए । आफ्नै कार्यकर्ताले कार्यक्रमस्थलमा जान पाउँ भनिरहेको बेला माथिको आदेश भन्दै प्रहरीले भित्र जान दिएको थिएन् ।

कार्यक्रम स्थलमा जान नपाएका स्थानीय कार्यकर्ता बाहिर गेटकै नेकपाका विरूद्ध खनिएका थिए । आफनै कार्यकर्तामाथि विश्वास नगर्ने नेता चाहिँदैन भन्दै मुख्य गेटमा भेटिएका कतिपय कार्यकर्ताले राजतन्त्रको नारा समेत लगाएका थिए । सुरक्षाका लागि खटिएका प्रहरीले माथिको निर्देशन आएको भन्दै पास बिना कसैलाई पनि भित्र जान नदिने बताएका थिए ।