चुनौतीको सामना गर्न सक्ने पार्टी बनाऔं: सिंह


चुनौतीको सामना गर्न सक्ने पार्टी बनाऔं: सिंह

नेपालगन्ज: नेपाली काँग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेसलाई सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीलाई अनुशासित, विधि र नियम सम्मत तबरले सञ्चालन गर्न सकेमा जनताको आर्कषण बढ्ने नेता सिंहको भनाई छ । उनले भने–‘नेपाली काँग्रेसलाई कार्यकर्ताले मात्र नभएर आम नेपाली जनताले विश्वास गर्ने पार्टी बनाउन सक्रिय हुनुपर्छ ।’ काँग्रेस सिद्धान्त र आदर्शका लागि लड्ने पार्टी रहेको स्पष्ट पार्दै पूर्वमहामन्त्री सिंहले काँग्रेसलाई बलियो बनाउन गाउँगाउँमा संगठन विस्तारको काम थाल्नुपर्नेमा जोड दिए ।

अहिले काँग्रेस पार्टीमा प्रभावकारी तरिकाले प्रतिपक्षीको भूमिका खेल्न नसकेको गुनासो बाहिर आउने गरेको भन्दै उनले पार्टी भित्रका कमी, कमजोरी हटाउनको लागि काँग्रेसका नेतादेखि कार्यकर्ताहरु गाउँ, वडा, टोलमा पुगेर काम गर्नुपर्ने तर्क राखे ।

Kids Festival 2022
kanti aarogya hospital
add

काँग्रेसले आम जनतामा भरपर्दो पार्टीको रुपमा परिचय स्थापित गरेको भन्दै जनताको अधिकार रक्षाका लागि सधैं तल्लिन रहेको उनले जिकिर गरे ।

उनले एमसिसीका विषयमा बोल्दै भने –‘नेपाली काँग्रेस सरकारमा रहँदा काँग्रेसकै अग्रसरतामा सम्झौता भएको हो । नेपाल–अमेरिकाबीच कुटनैतिक सम्बन्धको ७० औं वर्षगाँठमा नेपालले समझदारी गरेको थियो । सोही बेला अमेरिकाले नेपाललाई अनुदान दिएको हो ।’

उनले थपे–‘सो समझदारीमा नेपाल र अमेरिकाले संयुक्तरुपमा काम गरेरर पाँच वर्षभित्र अन्तरदेशिय विद्युतीय प्रशारणका लागि रकम खर्चिने र बाँकी भएको रकमले ३ सय किलोमिटरभन्दा बढि बाटोको स्तरउन्नती गर्नका लागि सम्झौता भएको प्रष्ट्याए ।’

यस्तै कार्यक्रममा काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले दुई तिहाई सरकारले सरकार मात्र नभएर सत्ता चलाउन थालेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वसत्तावादतर्फ उन्मुख भइरहेको बताउँदै उनले भने,–‘नेपाली काँग्रेसलाई यतिखेरको डर, चिन्ता भनेको नेकपाले दुई तिहाइको सरकार बनायो भन्ने होइन । नेपाल कम्युनिष्ट पार्टीले सरकार होइन, सत्ता चलाउन थाल्यो ।’

वर्तमान सरकारले मिडिया, आम नागरिक, अख्तियार, राष्ट्रिय मानव अधिकार आयोग लगायत निकायलाई नियन्त्रणमा ल्याउन खोजेको नेता थापाले शंका ब्यक्त गरे ।

कम्युनिष्ट सरकारले बहुमतको नाममा विवादास्पद कानून ल्याउन खोजिएको बताउँदै थापाले भने–‘संसदमा ल्याएको कानूनले सेनादेखि अदालतसम्म, अख्तियारदेखि मानवअधिकारसम्म सवै सरकारसंग तर्सेर बसेकाछन् । कानून बदलेर हुन्छ वा प्रभावमा पारेर, उनीहरुलाई आफ्नो अधिनमा पारिरहेकाछन् ।’

‘प्रहरी, अड्डा अदालत, प्रशासन, संसद सबै कुरालाई कब्जा गरेर एउटा ब्यक्तिले चलाउने कुरा यसबाट निर्माण भएको सत्ता हामीले परिकल्पना गरेको होइन,’ उनले थपे ।

उनले –‘तानाशाह अन्त्य गर्न राणासँग लडेको पार्टी नै नेपाली काँग्रेस भएको स्मरण गराउँदै नागरिकको अधिकारका लागि अझै पनि काँग्रेस तानाशाहविरुद्ध लड्ने चेतावनी दिए ।’

थापाले भने, ‘तानाशाह अहिले कोही पनि बन्दुक बोकेर आउँदैनन्, चुनावबाट आउँछ, ब्यालेटबाट आउँछ, भोट जितेर आउँछ, विकास दिन्छु भनेर आउँछ, खुसी दिन्छु भनेर आउँछ ।’

फाल्गुन ७ गतेको महत्व प्रजातान्त्रिक अधिकारसंग मात्र जोडिएको नभई नेपालको राष्ट्रियताको चर्चा गर्न कसैले सुरु गर्छ भने त्यो चर्चाको प्रारम्भ फाल्गुन ७ गतेबाट मात्रै हुनसक्ने बताउँदै थापाले भने–‘प्रधानमन्त्रीले बोलिरहेको ‘समृद्धिका कुरा’ पनि फाल्गुन ७ बाटै सुरु हुन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस बाँकेका सभापति किरण कोइरालाले आम जनताको भरोसा नेपाली काँग्रेसप्रति नै रहेको बताइन् । कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै मुलुकलाई बचाउन काँग्रेसले सक्रियता देखाउनुपर्ने धारणा राखिन् ।

प्रतिष्ठानका अध्यक्ष सुधाम्सु कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेसका नेता, सांसद, पूर्व सांसद लगायतको उपस्थिती रहेको थियो ।

पुस्तकालयमा करिब साढे ५ सय पुस्तक राखिएको प्रतिष्ठान बाँकेका सचिव तोजिन्द्र बिकले जानकारी दिए । उक्त पुस्तकालय नेपाली काँग्रेस बाँकेलाई बुधबार नै हस्तान्तरण गरिएको छ ।

सोही अवसरमा प्रतिष्ठानले नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित कार्यसमिती पदाधिकारी तथा पुस्तकालय स्थापना गर्नमा सहयोग पु¥याउने ब्यक्तीलाई सम्मान गरेको थियो ।