‘पार्टीभित्र नैतिकताको धरातल खस्कियो’: कोइराला


‘पार्टीभित्र नैतिकताको धरातल खस्कियो’: कोइराला

नेपालगन्ज: नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीभित्र अहिले नैतिकताको धरातल खस्किएको बताएका छन् । पार्टीलाई उचाइँमा पु¥याउन नैतिकताको खाँचो परिरहेको उनको भनाइ छ ।

नेपाली काँग्रेस बाँकेले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘नैतिकताको त्यो लडाईका लागि म तपाईहरुको साथमा छु, नेपाली काँग्रेसलाई हामी पुरानो अवस्थामा फर्काउन सक्छौं, जबसम्म नैतिकतालाई माथी लैजान सक्दैनौं, तबसम्म नेपाली कांग्रेस कमजोर हुन्छ ।’ विपी कोइराला, गणेशमान सिंह लगायत नेताले नैतिकताको लडाई लडेको स्मरण गराउँदै उनले अहिले पार्टीमा नैतिकताको अभाव देखा परेको बताए ।

पार्टीको आसन्न महाधिवेशनमा आफु नेतृत्वमा आउने उनले संकेत पनि गरे । कोइरालाले अगाडी भने, ‘म अब तपाईहरुलाई कुनै किसिमको अन्याय हुन दिन्न ।’ राजनीति गर्ने ब्यक्तिमा संस्कार र नैतिकता चाहिने बताउँदै पार्टीमा अहिले नैतिकताको ह्रास भईसकेको बताए । अहिलेसम्म पार्टी नेतृत्वमा आएका ब्यक्तिले आफ्ना कालखण्ड बिताइसकेको भन्दै अब नयाँ अनुहार पार्टी नेतृत्वमा आउनुपर्ने धारणा ब्यक्त गरे ।

काँग्रेस केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरीले वर्तमान सरकारले जनतालाई उधारो आश्वासन मात्रै दिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र समृद्धिको नारा दिएर जनतालाई झुक्याएको बताए । काँग्रेसको आसन्न महाधिवेशनमा सक्षम नेतृत्व ल्याउनुपर्ने उनको भनाई छ । पार्टीलाई बलियो बनाउन सक्षम नेतृत्वको आवश्यकता रहेको गिरीले बताए ।

अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारीले काँग्रेस कमजोर हुँदा देश कमजोर हुने बताए । नेपाली काँग्रेसलाई अगाडी बढाउनका लागि अब पार्टीभित्रैबाट नयाँ डाक्टर खोज्नुपर्ने केन्द्रिय सदस्य भण्डारीले जोड दिए । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला र क्षेत्रीय स्तरका नेता, कार्यकर्ताले विभिन्न सुझाव तथा गुनासो राखेका थिए ।