प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः कोइराला


प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः कोइराला

नेपालगन्जः नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

गोकुलप्रसाद बास्कोटालाई संरक्षण दिने वर्तमान सरकार भ्रष्टाचारमा डुबेको पुष्टी भइसकेकाले अब सरकार चलाउने नैतिकता नै नभएको उनले बताएका छन् ।

उनले बालुवाटार प्रकरणपछि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा सरकार सञ्चालन गर्ने ब्यक्तिकै संलग्नता भएपछि राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने ‘बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका ब्यक्तिहरु नै संलग्न छन् भन्ने देखिन्छ, जो–जो छन्, उनीहरुले नैतिकताको आधारमा राजिनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो माग हो ।’
सरकार काण्डै–काण्डमा मुछिएकाले पुर्ण रुपमा असफल भइसकेको काँग्रेस केन्द्रीय सदस्य कोइरालाले दावी गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डका विषयमा नेपाली काँग्रेसले संसद अवरुद्ध गरेको स्मरण गराउँदै भ्रष्टाचारमा संलग्न कसैलाई पनि छुट दिन नहुनेमा जोड दिदैं उनले ‘सरकारको नेतृत्व गर्ने ब्यक्तिले नैतिकताको आधारमा राजिनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको बताए ।’
पछिल्लो घटनाक्रमलाई हेर्दा देश अत्यन्त अप्ठ्यारो परिस्थितीमा गइरहेको कोइरालाले बताए । ‘यो सरकार असफल भइसकेको छ, सरकार सर्वसत्तावाद हुदै अधिनायकवादतर्फ गइराखेको छ,’ उनले भने ‘पे्रसका लागि पनि अत्यन्त कठिन दिन आइराखेको छ, प्रेसमाथिको सेन्सरसिफ, सामाजिक सञ्जालमा रोक लगाउने काम सरकारले गरिरहेको छ ।’

उनले थपे, ‘भ्रष्टाचार कसैले गर्छ भने छुट हुनुपर्छ भन्ने होइन, तर अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीलाई छुट दिएको छ, कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिने काम गरेको छ, अख्तियारको दोहोरो मापदण्ड हुनु भएन भन्ने नेपाली काँग्रेसको मान्यता छ ।’

पत्रकार भेटघाटमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरी, अर्का केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारी, पुर्वमन्त्री एवम् प्रतिनिधी सभाका सांसद सञ्जय गौतम, काँग्रेस बाँकेका सभापति किरण कोइराला लगायत सहभागि थिए ।

नेता कोइराला प्रदेश पाँचका बाँके, बर्दिया, दाङ, कपिलबस्तु लगायत जिल्लामा हुने कार्यक्रममा सहभागी हुन नेपालगन्ज आइपुगेका हुन् । उनी अझै केहीदिन प्रदेश पाँचका जिल्लामै रहने उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन स्थानीय व्यवस्थापन समितिका संयोजक एवम् युनियनका उप–महासचिव प्रेम केसीले नेपालगन्ज महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै महाधिवेशनलाई सफल पार्न सहयोगको आह्वान गरेका थिए ।