नेपालगन्ज: नेपाली काँग्रेसका नेतृ डाक्टर डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेच बिनाको राजा बन्दा मुलुक अराजक अवस्थामा गएको बताएकी छन् ।
पछिल्लो समय सरकारबाट उत्पन्न भएका विभिन्न काण्ड र घटनाक्रमले यसलाई पुष्टि गरेको उनले दावि गरिन् । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा मंगलबार गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेकी संग्रौलाले भनिन्, ‘प्रत्यक्ष राष्ट्रपतिको सिस्टममा जान खोजेर राष्ट्रपतिलाई थप अधिकार दिन सरकार उद्धत हुदैछ, प्रधानमन्त्री ओली श्रीपेच बिनाको राजा बन्दैछन्, मुलुक अराजक अवस्थामा जादैछ ।’
सरकार अझै पनि अलोकतान्त्रिक बाटोमा जान खोजेको बताउदै नेतृ संग्रौलाले भनिन्–‘नेपाली जनताले विकासको अनुभुती गर्न नपाउँदा जनतामा निराशा पैदा भएको छ ।’
सरकारको विरोधमा खरोरुपमा उत्रिदै नेतृ संग्रौलाले ‘कम्युनिष्ट सरकार समृद्धि र सुशासन दिन तथा कानून बनाउन असफल भएपनि भाष्ण र काण्डै काण्ड निम्त्याउन सफल भएको बताइन ।’
पत्रकारले सोधेको जिज्ञासामा नेतृ संग्रौलाले पार्टीको आसन्न १४ औं महाधिवेशन महिला मैत्री हुने र महाधिवेशनको नेतृत्व महिलाले गर्नुपर्नेमा जोड दिइन् । उनले थपिन्, ‘संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलालाई आरक्षण दिए पनि वर्तमान सरकारले पु¥याउन सकेको छैन, तर नेपाली काँग्रेसको विधानले एक तिहाई महिला भनेको छ, अब बन्ने समिति र १४ औं महाधिवेशन महिलामैत्री हुन्छ ।’
संग्रौलाले पार्टीमा महिला विभाग गठन ढिलो गरि गठन भएपनि यसले सकारात्मक सन्देश दिएको बताइन् । नेपाल प्रेस युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओलीको अध्यक्षतमा भएको पत्रकार सम्मेलनपछि नेतृ संग्रौलाले नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनको तयारीका विषयमा जानकारी लिएकी थिइन् ।