पूर्वडीआईजी महेशविक्रम शाह ।
नेपालगन्ज: प्रहरी जवानको तलबभत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा मदन पुरस्कार विजेता एवं पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोछ ।
नेपाल प्रहरीका पूर्वडीआईजी शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइराला बताँउछन् ।
यसअघि शाहविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको थियो । उजुरी पछि भएको छानविन पश्चात शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
यस्तै तलबभत्ता कीर्ते दस्तखत हिनामिना गरेको आरोपमा अख्तियारले शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेकोछ ।
अख्तियारले उनीहरु तीनैजनाविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १ सय ३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १ सय ४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६ सय १६ र ८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी झिकेर बाँडिचुँडी खाएको पुष्टि भएको अख्तियारको भनाइ छ ।
त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरी तालिम केन्द्रले रकम हिना मिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएको भन्दै लेखापाल विशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।
साहित्यक्षेत्रमा पनि क्रियाशिल शाहद्वारा लिखित कृति ‘छापामारको छोरो’ का कारण उनले २०६४ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।