नेपालगन्ज: कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि कालोबाजारी मौलाउन थालेकोछ । कालोबजारीमा सक्रिय तस्कर र दलाले कोरोना भाइरसले विश्वव्यापी माहामारी फैलाइरहेको अवस्थामा आफ्नो सक्रियता बढाएकाछन् ।
यस्तै प्रहरीले भारतबाट तस्करी गरी नेपाल ल्याउदै गरेको करिब एक हजार किलो ब्रोइलर कुखुरा बुधबार बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटेको सूचना संकलन टोलीले हिरमिनिया नाकाबाट १० वटा साईकलमा राखेर ल्याउदै गरेको अवस्थामा ४ सय जिउँदो ब्रोइलर कुखुरा बरामद गरको हो ।
कोरोना भाईरसको त्रासका कारण भारतमा कुखुरा र माछा अघोषित प्रतिबन्ध लगाईएपछि भन्सार छलेर नेपाल भित्र्याइन थालिएकोछ ।
कोरोनाका कारण भारतमा ब्रोइलर कुखुरा प्रतिगोटा ३० रुपैयाँ भारुमा बिक्रि हुन छाडेपछि तस्करीको माध्यामबाट नेपाल भित्रिन थालेकोहो ।
सीमानाकाबाट भन्सार छलेर ब्रोइलर तथा माछा नेपाल भित्रिरहदाँ जनगुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको थियो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज एवम प्रहरी निरीक्षक हरी बस्नेतले बितेको रात साईकलमा राखेर नेपाल ल्याउदै गरेका ब्रोइलर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो । तस्करले प्रहरीलाई देखेपछि साईकल छाडेर भागेको उनले बताए । उनले बरामद कुखुरा नष्ट गर्नको लागि पशु क्वारेन्टाईन पठाईएको बताए ।
भारतमा विभिन्न प्रकारको हार्मोन प्रयोग गरी समयभन्दा अगावै तयार गरिएका कुखुरा दिनहुँ तस्करीको माध्यामबाट नेपाल भित्रिने गर्छ । विज्ञका अनुसार यसरी उत्पादन गरिएको कुखुरा मानव स्वास्थ्यका लागि प्राणघातक हुन्छ ।