नेपालगन्ज:शनिबार विहान ११ बजे नेपालगन्जमा चलेको तीब्र हावाका कारण नेपाल वायु सेवा निगमको ध्वजाबहाक विमान दुर्घटना भएको छ। काठमाडौंबाट नेपालगन्जका लागि उडेको राष्ट्रिय ध्वजाबाहक जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा भएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
कल साइन ९ एन एकेयू भएको टुवीनअटर जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको उनले जानकारी दिए ।
उनकाअनुसार जहाज विहान ११ः३५ बजे धावन मार्गबाट चिप्लिएर ७३ मिटर दक्षिणतर्फको झाडीमा पुगेको छ । उक्त विमान कोरोना आशंकित विरामीहरुको स्वाब लिनका लागि नेपालगन्ज आएको थियो । दुर्घटनामा मानवीय क्षति भएको छैन् । विमानमा भने सामानय क्षति पुगेको ठाकुर बताउँछन् ।
उनकाअनुसार जहाजमा चालक दलका तीन सदस्य र दुई डाक्टर गरी पाँच जना सवार थिए । जहाजमा पाइलट केबी लिम्बु, को–पाइलट महेश पाण्डे, एयरहोस्टेस किरण आचार्य, डाक्टर प्रवेश पन्त र डा.सन्देश देवकोटा रहेको उनले जानकारी दिए । उनकाअनुसार जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट घस्रिएर घाँसे मैदानमा पुगेको थियो । जहाजभित्र रहेका सवैको उद्दार गरिएको र सबै सकुशल रहेका छन् ।
जहाज अवतरणका क्रममा धावनमार्ग नजिकै पुग्ने बेला आकाशमै अनियन्त्रितजस्तो देखिएको स्थानीयहरुले बताए । विमान दुर्घटना भएकाले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजमा संकलन गरिएको स्वाब पनि कोरोना चेकजाँचका लागि अब काठमाडौं समस्या हुने देखिएको छ । नेपाल लकडाउनका कारण विमान र यातायात सवै बन्द भएकाले नेपाल सरकारको निर्णय अनुसार कोरोना आशंकित विरामीहरुको स्वाब लिन नेपाल एयरलाइन्सको नेपालगन्ज आएको थियो ।
विमानले मेडिकल सामग्री ल्याएर आएको थियो । ती सामग्री पनि सुरक्षित नै रहेका छन् । विमान दुर्घटना परेपछि नेपालगन्जमा रहेको स्बाब काठाडौं लैजान समस्या भएको अस्पतालहरूले बताएका छन् । तर, नेपाल नागरिक उडड्यन प्राधिकरणले नेपालगन्जमा रहेको कोरोना आशंकितहरूको स्वाब काठमाडौ लैजान अर्को व्यवस्था गर्ने बताएको छ ।
उक्त दुर्घटनाको समाचार संकलनका क्रममा विमानस्थल पुगेका बाँकेका पत्रकारलाई विमानस्थलमा रहेका प्रहरीले घटनास्थलमा प्रवेशमा रोक लगाएका थिए । समाचार संकलन र फोटो खिच्न समेत जान नदिएपछि पत्रकारले सूचना संकलनमा प्रहरीले अवरोध गरेको गुनासो गरेका छन् ।
दुर्घटनास्थलमा पुगेर फोटो खिच्न दिनुपर्ने पत्रकारहरूले माग गर्दा त्यहाँ रहेका प्रहरी र विमानस्थलका प्रमुख ठाकुरले पत्रकारमाथि दुव्र्यवहार समेतको प्रयास गरेका थिए । अन्तत बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओली र बाँकेका सिडिओ कुमारबहादुर खड्कासँग पत्रकारद्वय काशी शर्मा र कमल न्यौपानेले समाचार संकलनको वातावरण बनाईदिन आग्रह गरेपछि विमानस्थलको मुख्यद्वारबाट पत्रकारलाई घटनास्थलसम्म जान दिइएको थियो ।