दुई बसमा तोडफोड, एकजना घाईते
File Photo
नेपालगन्ज: गत १५ दिनदेखि दशगजा स्थित अस्थायी क्वारेन्टिनमा बसेका नेपालीहरु बिहीबार आन्दोलनमा उत्रिएकाछन् । नेपालगन्ज उपमहानगरपालिकाले जनस्वास्थ्य लगायतका निकायसगंको समन्वयमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । बिहीबार गरिएको स्वास्थ्य परीक्षणमा क्वारेन्टिनमा रहेका १८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
रिपोर्ट नेगेटिभ आएपछि मेयर राणासहितका सरोकारवालाले क्वारेन्टिन छोडी घर जान निर्देशन दिएका थिए । तर, बाँके प्रशासन र गृहमन्त्रालयको समन्वय अभावका कारण उनीहरु घर जानबाट बञ्चित भएपछि आन्दोलनमा उत्रिएका हुन् ।
घर जान तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीले क्वारेन्टिन नछोडन निर्देशन दिएका थिए । उक्र निर्देशनसगैं आफूहरु घर जान पाउने भन्दै क्वारेन्टिनमा रहेकाहरुले आन्दलोन चर्काएको जमुनाहका प्रहरी प्रमुख सई माधव रिजालले जानकारी दिए ।
आन्दोलनमा उत्रिएका नेपालीले क्वारेन्टिनमा रहेको दुईओटा बसको सिसा फुटाईदिएका छन् । सुरक्षाका लागि क्वारेन्टिन पुगेको जमुनाह प्रहरीसंग आफूहरु घर जानपाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले झडपको स्थिती समेत सिर्जना गरेको जमुनाह प्रहरी प्रमुख सई रिजाल बताउँछन् ।
उनका अनुसार आन्दोलनकारीहरुले आफूहरु घर जान पाउनुपर्ने माग गर्दै दुईवटा बसमाथि तोडफोड गरेकाछन् । बस तोडफोड गर्ने क्रममा क्वारेन्टिनमा रहेका आन्दोलित एकजना सामान्य घाईते भएका छन् ।
नेपालगन्जको दशगजामा रहेका एक सय ८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टिमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।
भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुको बिहीबार आरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडी समेत बोलाइएको थियो । धेरैजसो गाडीभित्र सामान राखिएका थिए । कतिपयले आ–आफ्नो सिट छानेर समेत बसिसकेका थिए ।
१५ दिन क्वारेन्टिन बसेपछि आरडीटि टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य मानिने गरिएकोछ । जिल्लाकै अन्य पालिकाहरुले यस्तोमा घर जान दिएका छन् ।
दशगजामा राख्ने बेलामा उनीहरुले आन्दोलन गर्दा १४ दिन पछि घर पठाईदिन्छौ भन्ने आश्वासन पनि दिइएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशमसेर राणाले गृहमन्त्री रामबहादुर थापा र गृहसचिवलाई फोन समपर्क गर्दा गृहमन्त्री थापाले मन्त्रीपरिषद्को निर्णयले नै एक ठाँउबाट अर्को ठाँउमा जान रोकेको प्रतिक्रिया दिएको राणाले जानकारी दिए ।