काँग्रेसले भन्योः ‘नेपालगन्जमा कोरोना परीक्षणको दायारा बढाउ’


काँग्रेसले भन्योः ‘नेपालगन्जमा कोरोना परीक्षणको दायारा बढाउ’

नेपालगन्ज : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारसँग परीक्षणको दायरा बढाउन माग गरेको छ । बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि यस्तो माग गरेको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर बाँकेमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गरेका हुन् ।

‘नेपालगन्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रमुख सचेतक बालकृष्ण खाणले आज स्वास्थ्य मन्त्रीज्यूलाई टेलिफोन सम्पर्क गरी उक्त स्थानमा व्यापक रूपमा परीक्षणको दायरा बढाउनु पर्ने विषयमा विशेष ध्यानाकर्षण गराउनुभयो,’ काँग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले जानकारी दिए ।

उनका अनुसार कुराकानीका क्रममा प्रमुख सचेतक खाणले बाँके क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने र आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक खाणले नेपालगन्जमा संक्रमित व्यक्तिहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुन सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिहरूको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनु पर्ने धारणा व्यक्त गरे ।

यसैगरी खाणले रूपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहिमाई गाउँपालिका १ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको भन्दै ती युवकको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन स्वास्थ्य मन्त्री ढकालसँग आग्रह गरेको उनको भनाइ छ ।

यसबीच प्रस्तावित लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल आज सोमबार नेपालगन्जमा आएकाछन् । उनले यहाँ स्थित विभिन्न सरोकारवालासंगको भेटघाटलाई तिव्रता दिएकाछन् ।