ज्यानमार्ने धम्की पश्चात बन्द गरिएको सोनपुर स्वास्थ्य चौकी ।
खजुरा (बाँके) : बांँकेको खजुरा गांउँपालिका वडा नम्बर ७ सोनपुरमा रहेको स्वास्थ्य चौकीमा ताला लगाइएकोछ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकी बन्द गरिएको हो ।
गाउँंपालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफी भाटसहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै यसअघि स्वास्थ्यकर्मी र कर्मचारीहरुले प्रहरीसंग सुरक्षा माग गरेका थिए ।
उनीहरुले कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको अश्लिल गालीगलौज गरेको र भाटसहितले कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए ।
कार्यालय परिसरमै आएर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि आज मङ्गलबार बाँकेको खजुरा गाँउपालिका ७ सोनपुर स्थित स्वास्थ्य चौकी बन्द गरिएकोछ ।
स्थानीय युवाको धम्की पश्चात काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वास्थ्य चौकी खोलेनन् । जसले गर्दा स्वास्थ्य चौकीबाट नियमित प्रदान गरिदै आएको सेवा प्रभावित बनेकोछ ।
कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्की दिनेहरुमाथि कानूनी कारवाही गर्न यसअघि ईलाका प्रहरी कार्यालय धनौलीमा लिखित निबेदन दिइएको थियो ।
चौकी ईन्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफुले अस्विकार गर्दा भाटसहितका ब्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।
वैशाख २६ गते प्रसुती गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए ।
कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ । अझ आज विश्व नर्सिङ्ग दिवस मनाइरहदाँ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पुगी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान माने धम्कि दिदाँसम्म बाँके प्रहरीले धम्की दिने ब्यक्तिलाई पक्राउ गर्नसकेकोछैन ।
यसैबीच इप्रका धनौलीका ईन्चार्ज प्रहरी पोषणराज थपलियाले सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले आफुहरुमाथि जिउज्यानको सुरक्षा गरी पाउ भन्दै कार्यालयमा निबेदन दिएको र सो उपर अनुसंधान सुरु भएको बताएकाछन् ।