पुरैनाबासी आन्दोलित


पुरैनाबासी आन्दोलित

नेपालगन्ज : प्रहरीले निर्दोषलाई पक्राउ गरेको विरोधमा पुरैनाबासी आन्दोलित बनेकाछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाका एक युवालाई प्रहरीले विना कारण पक्राउ गरि लगेको भन्दै युवाले आन्दोलन गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का दुर्गेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । हिजो बुधबार पुरैनामा प्रहरीले १४ वर्षिय बालकको हात भाँच्यो, ती बालकलाई उपचारका लागि भेरी अस्पताल लगेका दुर्गेशलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको उनका परिवारले बताएकोछ ।

व्रिजेशका दाई प्रवेशस ठाकुरले भने–‘गल्ती अरुले गर्ने सजाय मेरो भाईले पाउने यो कहाँको नियम हो । पक्राउ गरिएका भाईलाई प्रहरीले छोड्नुपर्छ ।’

प्रहरीको कुटपिटपछि बालकको हात भाँचिएको भन्दै स्थानीयले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ को वडा कार्यालय अगाडी सडक बन्द गरि टायर बालेर विरोध जनाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसविषयमा बुझ्दा वडाअध्यक्ष रञ्जित खाँले आँपबगैचामा जुवा खेलिरहेका युवालाई पक्रिन गएको प्रहरीको कुटाईबाट हात भाँचिएको सुनेको बताए । उनले थपे–‘आफू अरु काममा ब्यस्त भएकाले घटनाको विषयमा विस्तृत बुझ्न नसकेको बताए ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनामा जग्गा सम्बन्धिको विवाद मिलाउन गएको प्रहरीमाथि आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरिएको वडा प्रहरी कार्यालयका प्रहरी ईन्चार्ज प्रहरी निरीक्षक हरि बस्नेतले बताए ।

वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक बस्नेतले भने–‘पुरैनामा हिजो बुधबार जग्गासम्बन्धिको विवाद भएको थियो । नगर प्रहरी र वडा प्रहरीको टोली गएर विवाद मिलाएर फर्किने क्रममा नजिकै रहेको आँप बगैचामा युवाहरुको समूह जुवा खेलिरहेका थिए । सोही क्रममा प्रहरीलाई देखेर उनीहरु भागे । भाग्ने क्रममा ती बालकको हात भाँचिएको हो ।’

सेतोखरीसंग कुरा गर्दै प्रहरी निरीक्षक बस्नेतले भने–‘हतियारबिना जुवा खेलिरहेको स्थानमा प्रहरी पुग्यो । प्रहरीलाई देखेर जुवाखालबाट भागेका मध्ये एकजनाको हात भाँचिएको हो ना की प्रहरीको पिटाईबाट ।’

उनले थपे–‘बालकको हात भाँचिएपछि त्यसको विरोध गरिरहेका पुरैनाका युवाले सोहीक्रममा तेलियनपुरबाट आएको प्रहरीमाथि आक्रमण गरि एक प्रहरीको टाउको समेत फुटाएकाछन् ।’

उनले भने–‘प्रहरीमाथि आक्रमण गर्ने युवाको पहिचान गरि पक्राउ गरिएको छ । अदालतबाट म्याद थप गरि उनीमाथि मुद्दा चलाउने तयारी गरेको वडा प्रहरी ईन्चार्ज प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।