नेपालगन्ज: नक्शा संशोधन सम्बन्धि प्रस्ताव संसदबाट अबिलम्ब पारित गर्नुपर्ने माग गर्दै राप्रपाले मंगलबार नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ ।
राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाको नेतृत्वमा पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन त्रिभुवन चोक पुगेर पुनः जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।
नक्शा संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङमार्फत ज्ञापनपत्र बुझाइएको राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले जानकारी दिए ।
नक्शा संशोधनसँगै कोभिड–१९ को प्रभावकारी ब्यवस्थापन, परीक्षणको दायरा बढाउन, आर्थिक अनियमितताको छानविन तथा ब्यवसायीका समस्या समाधान तथा आम नागरिकलाई राहतका कार्यक्रम ल्याउन माग गरिएको युवा नेता ऋषिराज देवकोटाले जानकारी दिए ।
ज्ञापनपत्र बुझाएपछि सम्बोधन गर्दै राप्रपाका नेता राणाले संसदले तत्काल संशोधन प्रस्ताव पारित गरि नेपालको भूमी फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।