नेपालगन्ज: नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घासमा रहेको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डाक्टर कविराज भुसाल बताँउछन् ।
स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएका थिए । तर, कोसिस गर्दागर्दै पनि उनलाई बचाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सकेनन् ।
शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
तर, उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।