File Photo
नेपालगन्ज : चीनले १० भारतीय सैनिक रिहा गरेको छ । भारत–चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको हो ।
सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए । दुबै देशबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो । ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको छ ।
भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ ।
भारतीय पत्रिका ‘द हिन्दु’ले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ । पछिल्लो झडपका लागि दुबै देशले एकअर्कालाई आरोप लगाएका छन् ।
सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन–भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ । घटनापछि भारतमा चिनियाँ सामान बहिष्कार आवाज उठेको छ । यसैगरी भारतका दुई शहरमा चीनको झण्डा र चिनियाँ राष्ट्रपतिको पोस्टर जलाइएको छ ।
यसबीच सीमा भएको घटनामा १८ जना भारतीय सैनिक गम्भीर घाइते भएका छन् । चीनले पनि आफ्नोतर्फ क्षति भएको बताएपनि के–कति संख्यामा आफ्नोतर्फ हताहती भयो भन्ने बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन ।
सन् १९६२ पछि भारत–चीन सीमामा भएको यो झडपबाट ज्यान गुमाउनेको संख्या ठूलो हो । पछिल्लो समय भारतले आफ्नो छिमेकी मित्र राष्ट्रसंग कुटनैतिक तथा अन्तरदेशिय सम्बन्ध विगारेकोछ ।
भारतीय दादागिरी र घमण्डका कारण उसको यतिबेला चौतर्फी आलोचना भइरहेकोछ । अझ पछिल्लो समय नेपाली भूमिलाई आफ्नो भन्दै उसले जारी गरेको राजनैतिक नक्शाले नेपालमा भारत विरोध गतिविधि बढेकोछ । यद्यपी नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ । संसदबाट पारित नयाँ नक्सालाई हिजो मात्रै राष्ट्रपति विद्यादेवि भण्डारीले संवैधानिक मान्यता दिएकी छन् ।