नेपालगन्ज : प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा राष्ट्रिय बाणिज्य बैंका प्रबन्धकलाई नियन्त्रणमा लिएकोछ । बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।
प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । योसगैं नक्कली कागजपत्र धितो राखेर ऋण लिएका नेपालगन्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढमाथि छानविन शुरु भएकोछ ।
नेपालगन्जका सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्शा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैंकको नेपालगन्ज त्रिभुवन चोक शाखााबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएको घटनामा बैंक शाखा प्रबन्धक शाही पक्राउ परेका हुन् । जसगढ यसअघि नै पक्राउ परिसकेका छन् ।
बैंकका अरु कर्मचारीसगं पनि बयान लिने काम भइरहेको छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ्ग कसुरको अनुसन्धान गर्ने जनाएकोछ । बैंकिङ्ग कसुरको अनुसन्धान हुदाँ बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने प्रहरीको आँकल छ । यसो भयो भने बैंकका अन्य दोषीहरु समेत कानूनी फन्दामा पर्ने एक प्रहरी अधिकृत बताउँछन् ।
बैंकमा ऋण प्रबाह गर्दा २५ लाख भन्दा बढीको ऋण स्वीकृति गर्नुपरे सम्बन्धित बैंकको केन्द्रिय कार्यालयको अनुमति चाहिने हुन्छ । यस्तोमा नक्कली कागजपत्र राखेर, सरकारी छाप किर्तेलाई स्वीकृति गरि १ करोड २५ लाख रुपैयाँ प्रवाह हुदाँ बैंकका कर्मचारी, धितो राखेको कागजात, सम्पत्ती रोक्का गर्ने भूमी तथा मालपोत कार्यालय तथा सम्पत्ती भ्यालुयसन गर्ने कम्पनीसमेतलाई कानूनी दायरामा ल्याएर कारबाही गरिनेछ ।
नक्कली कागजात किर्ते गर्ने नेपालगन्जका सुनचाँदी ब्यवसायी रिजवान अहमद जसगढले नेपालगन्जका आधा दर्जन बढि बैंकबाट करोडौंको ऋण लिएको खुल्न आएकोछ । थप बैंकले कुन आधार, कसरी ऋण प्रवाह गरेको हो यसमा कोको मिलोमतो रहेको छ सबै विस्तारै खुल्ने एक प्रहरी अधिकृतले सेतोखरीलाई जानकारी दिए ।