सरिता गिरी पार्टीबाट निष्कासित


सरिता गिरी पार्टीबाट निष्कासित

File Photo

नेपालगन्ज : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको हो । योसँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही अनुसार सरिता गिरीलाई कारबाही गरिएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।

सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि उनलाई निर्देशन दिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।

सो स्पष्टीकरणको जवाफ उनले असार १८ गते पार्टीमा बुझाएकी थिइन् । उनले स्पष्टीकरण दिनुभन्दा पनि पार्टीलाई नै प्रश्न गरेकी थिइन् । उनले गरेको प्रश्नको जवाफ पार्टीले दिएपछि मात्र उनले पार्टीलाई आफ्नो स्पष्टीकरण दिने भनि पत्रमा उल्लेख गरेकी थिइन् ।