विपदबाट १५५ को मृत्यु, अझै ५२ बेपत्ता


विपदबाट १५५ को मृत्यु, अझै ५२ बेपत्ता

नेपालगन्ज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १ सय ५५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ५३ जना बेपत्ता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । विवरणानुसार पहिरोमा परेर कूल १ सय २ जनाको ज्यान गएको छ । ४६ जना हराइरहेका छन् । कूल ८५ जना घाइते छन् । विपदमा परेर कूल २ सय ४९ घाइते छन् । मुख्यगरी चट्याङ, बाढी र पहिरामा यसरी मानवीय क्षति भएको उनी बताउँछन् । 

बाढीमा परेर छ जनाले ज्यान गुमाएका छन् । छ बेपत्ता भएको र तीन घाइते भएका छन् । चट्याङबाट ४७ जनाको मृत्यु भएको छ । १ सय ६१ जना घाइते छन् । मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिनाका अवधिमा मात्रै कूल १२० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा १२८ जना घाइते भएको तथ्यांक छ ।

उक्त अवधिमा पहिरोमा परेर मात्रै एकसय जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर तीन र चट्याङबाट १७ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । यस वर्ष अहिलेसम्म कूल ६० जिल्लामा मनसुनजन्य विपद्का घटना भएको छ ।  त्यसमध्ये ३३ जिल्लामा मानवीय क्षति भएको छ । असार अन्तिम साता मुलुकका विभिन्न जिल्लामा भारी वर्षा हुँदा धेरैले ज्यान गुमाएका छन् । धेरै बेपत्ता छन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकका बाह्रबीसे र भोटेकोशीमा बाढी पहिरामा परेर दुई जनाको मृत्यु भएको थियो । अझै २० जना हराइरहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यही साउन ४ देखि पुनःन्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन सक्रिय हुने र मुलुकका विभिन्न जिल्लामा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने अनुमान गरिएको छ । त्यसैले प्राधिकरणले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ ।