नेपालगन्ज : प्यूठानको स्वर्गद्वारीमा ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । मृत्यु भएका सात जना रोल्पाका हुन् ।
दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नम्बर– ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रीमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढामगर र त्रिवेणी गाउँपालिका निवासी २५ वर्षीय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमध्ये कुवँर ट्याक्टर चालक हुन् । भने गोर्बधन बुढा मगरको उमेर खुल्न सकेको छैन । त्यस्तै सो ट्याक्टरमा सवार रोल्पाकै विशाल थापाले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा ट्रयाक्टरमा ८ जना सवार रहेका थिए ।
प्रहरीका अनुसार प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा शनिबार राति झण्डै ५०० मिटर तल खसेको थियो ।
उनीहरू सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदूरहरु हुन् । दुर्घटना राती नै भएको भएपनि प्रहरी भने आईतबार विहान मात्रै घटनास्थल पुगेको सर्वसाधारणले बताएका छन् ।