चोरीका मोटरसाईकल सहित १४ जना पक्राउ


चोरीका मोटरसाईकल सहित १४ जना पक्राउ

नेपालगन्ज : दाङ प्रहरीले चोरीका १० वटा मोटरसाइकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोडिफाई) गरिएका १० वटा मोटरसाईकल सहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दका अनुसार पक्राउ परेका व्यक्तिहरुका साथबाट नक्कली सवारी धनी प्रमाणपत्र र लाइसेन्ससमेत बरामद गरिएको छ । प्रहरीले आईतबार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले बजाज कम्पनीका ७ वटा, केटिएम ड्यूक १ र एउटा यामाहा कम्पनीका मोटरसाईकल समेत बरामद गरेको छ ।

प्रहरीद्वारा बरामद गरिएका मोटरसाईकलहरुमा रा४प ५८३२ नम्बरको २२० सिसीको पल्सर, रा२प ५०४४ को १५० सिसीको पल्सर, लु४५प ८४७ नम्बरको १५० सिसीको पल्सर, रा४प ६०३९ नम्बर २२० सिसीको पल्सर, रा४प २४६, लु४प ४१११ र एउटा नम्बर नखुलेको मोटरसाईकल बरामद भएको दाङका प्रहरी प्रमुख एसपी चन्दले बताए ।

यस्तै प्रहरीले बा७६प २९७६ र बा८५प ६१५ नम्बरको केटिएम ड्यूक र रा४प ६२१९ नम्बरको यामाहा कम्पनीको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका– १३ निवासी १८ वर्षीय संजय परियार, घोराही–१४ का २३ वर्षीय समिर सुनार, सोही ठाउँका २१ वर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ वर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ वर्षीय सागर हमाल, घोराही–१७ का २३ वर्षीय निरज योगीलाई नियन्त्रणमा लिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी पक्राउ पर्नेहरुमा लमही नगरपालिका–७ निवासी २५ वर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ वर्षीय पाल्टुराम चौधरी, २७ बर्षीय हेमन्त गिरी, २४ वर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेला निवासी १९ वर्षीय आयोज चौधरी, २२ वर्षीय प्रियतम चौधरी, २७ वर्षीय रविप्रताव यादव र २७ वर्षीय राजकुमार यादवलाई पनि पक्राउ गरिएको छ ।

बरामद गरिएको मोटरसाईकल तथा पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखी आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।