भेरीमा अख्तियारको स्ट्रिङ्ग अपरेशन : कम्प्युटर अपरेटर अरुण खनाल पक्राउ

कमिशनबापतको १६ लाख १३ हजार ९ सय ७५ बरामद


भेरीमा अख्तियारको स्ट्रिङ्ग अपरेशन : कम्प्युटर अपरेटर अरुण खनाल पक्राउ

File Photo

नेपालगन्ज : नेपालगन्ज स्थित भेरी अस्पतालमा अख्तियार दुरुपयोग आयोगले छापा मारेकोछ । यसक्रममा अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई नगद १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ कमिशन सहित पक्राउ गरेको अख्तियार नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले सेतोखरीलाई जानकारी दिए ।

विशेष सुराकीको आधारमा अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर खनालले कमिशन बापतको रकम लिइरहेको भन्ने बुझिएपछि अख्तियारका सूचना अधिकारी पाण्डे सहितको टोली बिहीबार दिउँसो भेरी अस्पताल पुगेको थियो ।

उक्त टोलीले भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाललाई कमिशन बापतको रकम लिइरहेको अवस्थामा अस्पताल भित्रैबाट पक्राउ गरेको सूचना अधिकारी पाण्डे बताउँछन् ।

कम्प्युटर अपरेटर खनाल विगत लामो समयदेखि स्टोर सम्हाल्दै आएका ब्यक्ति भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । दरबन्दी कम्प्युटर अपरेटर भएपनि स्टोरको जिम्मेवारी सम्हालेका कारण उनले अस्पतालका मेसु लगायतसगंको सहमतिमा वर्षौंदेखि लाखौं रुपैयाँ यसरी नै कमशिनका रुपमा आम्दानी गर्दै आएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पतालमा अरुणराज खनाल मात्रै होइन दर्जनौं ब्यक्ति दरबन्दी अनुसारको पद भन्दा माथिल्लो वा आम्दानी हुने शाखामा रजाई गर्दै आएका छन् । अस्पतालका स्टोर प्रमुख केशव पौडेलले आफु कार्यालयमा नआइ स्टोरको जिम्मेवारी उनै कम्प्युटर अपरेटर खनाललाई सुम्पिएका थिए । यसबापत खनालले विभिन्न ब्यक्तिलाई कमिशन उपलब्ध गराउँदै आएको पनि अख्तियारको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेकोछ ।

अख्तियारले कमिशन सहित पक्राउ परेका खनालसगैं आवश्यकता अनुसार अस्पतालका विभिन्न ब्यक्तिलाई अनुसन्धानका लागि बोलाउन सक्ने र अहिले पक्राउ नपरेपनि आधा दर्जन ब्यक्ति अख्तियार उच्च निगरानीमा रहेको अख्तियारका सूचना अधिकारी पाण्डे बताँउछन् । आयोगमा केही दिनअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै भेरी अस्पतालका विरुद्ध उजुरी दर्ता भएको थियो ।

उजुरी दर्ता पछि अख्तियारले अस्पतालका बारे प्रारम्भिक अनुसन्धान गरेकोमा उक्त अनुसन्धानका क्रममा अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजपत्र सन्तोषजनक नदेखिएपछि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले आज बिहीबार छापा मारेको हो ।

गत असार ४ गते अख्तियारले भेरी अस्पतालमाथि प्रारम्भिक छानविन शुरु गरेको थियो अख्तियार नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले भने–‘अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजात हेर्दा छानविन टोलीको चित्त बुझ्दो सुझाव नआएका कारण अख्तियारले बिहीबार थप अनुसन्धानका लागि छापा मारेको हो ।’

थप अनुसन्धानका लागि आवश्यक कागजपत्र माग गरिएको छ । उक्त कागजपत्रमाथि विशेष छानविन गरिनेछ सूचना अधिकारी पाण्डेले भने –‘अनुसन्धानका क्रममा दोषी फेला परे तत्कालै कानूनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर हुन्छ ।’ कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगाएत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको थियो ।

अख्तियारका सूचना अधिकारी पाण्डेका अनुसार बायो मेडिकल ईकुपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पताल विरूद्ध अख्तियारमा असार पहिलो साता उजुरी दर्ता भएको थियो ।
उक्त उजुरीमा कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित टेण्डरबिनै खरिद गरेको उल्लेख गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारमा उजुरी दर्ता भएपछि भेरी अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार–‘अख्तियारमा उजुरी परेपछि अस्पताललाई ७ दिनको म्याद दिएर बायो मेडिकल ईकुपमेन्ट लगायतका सामाग्री खरिदका कागजजात, रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिदको प्रक्रियाका बारे स्पष्ट लिखित जवाफ पठाउन माग गरिएको थियो ।
भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड माथिको मेडिकल उपकरण खरिद गरिएको थियो ।

भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले छानबिन गरिरहेको र अस्पतालले अख्तियारमा परेको उजुरीमाथि छानबिनका लागि सहयोग पनि गरेको बताए ।

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा अख्तियारको छापा