प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मोदीले भने -बदला लिन्छौ
नेपालगन्ज : भारतको जम्मु–कास्मिरमा भएको आतंकी हमलाको भत्सना गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनाएका थिए ।
कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएका थिए । जसमा ४० भन्दा बढी सुरक्षाकर्मी सवार थिए । सो घटनाबाट ४० जना भारतीय सेनाको मृत्यु भएकोछ । सुरक्षाकर्मी चढेको बस जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको थियो । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार, विस्फोटमा परी हालसम्म ४० जना सुरक्षाकर्मीको ज्यान गएको छ ।
यसैबीच, जम्मू कश्मीरमा भएको आतंकी हमलामा पाकिस्तानलाई कडा सन्देश दिदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको बदला लिने बताएकाछन् ।
उनले भने यो घटनाले विश्व हल्लिएकोछ । यदी छिमेकी राष्ट्रले यो घटनामार्फत भारतमा अस्थिरता कायम भएको बुझाई छ भने त्यो ब्यर्थ रहेको उनले बताए ।
उनले भने जुन बाटोमा पाकिस्तान हिडिरहेकोछ, त्यो विध्वन्सको बाटो हो भारतले सदैव उन्नतीको पथ अंगालेकोले पाकिस्तान द्वन्द्वको बाटोमा हिडिरहेकोछ । द्वन्द्वबाट भारतमा अस्थिरता कायम गर्ने पाकिस्ताको सपना ब्यर्थ रहेको प्रधानमन्त्री मोदीले बताए ।
भारतीय प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै राष्ट्रको सेवा गर्दागर्दै वीरगती प्राप्त गर्ने बहादुर सेनाको अमूल्य योगदान खेर नफाल्ने बताएका छन् ।
आतंकी हमलाले यतिवेला भारतभर आक्रोश फैलिएकोछ । पिएम मोदीले भने –‘आतंकबादीले ठूलो गल्ती गरेकाछन् । दोषीले यसको कडा नतिजा भोग्नुपर्छ । जसका लागि सुरक्षा संयत्रलाई पुरा छुट दिइएकोछ ।’
प्रधानमन्त्री मोदीले यतिवेला देशमा भएको आतंकी हमलाका विषयमा टिकाटिप्पणी गर्नु भन्दा पनि एकजुट भएर मुकाबला गर्न सवै राजनितिक दललाई आह्वान गरेका छन् । उनले भने ‘मेरा सम्पूर्ण साथीहरुलाई अनुरोध छ की यो अत्यन्त संवेदनशील अवस्था हो, यो अवधिमा राजनितिक टिकाटिप्पणी गर्नुभन्दा सवै मिलेर यो अवस्थासंग जुध्नुपर्छ ।’
उता, इस्लामिक समूहका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमहरूलाई प्रेस विज्ञप्ति पठाएर घटना पुष्टि गरेका छन्। भारतीय सैनिकलाई लक्ष्य गरी भएको आत्मघाती आक्रमण 'वाकास कमान्डो' भनिने आदिल अहमदले गराएको र उनी जैस–ए–मोहम्मद इस्लामिक समूहका लडाकू रहेको विज्ञप्तिमा उल्लेख छ।
यो कश्मिरमा भारतीय सुरक्षाकर्मीमाथि सन् १९८९ यताको सबैभन्दा ठूलो आक्रमण भएको बिबिसीले जनाएको छ।
यसअघि सन् २००२ मा जम्मु नजिकको सैनिक क्याम्पमा भएको आतंककारी हमलामा कम्तिमा ३१ जनाको ज्यान गएको थियो। मारिनेमा अधिकांश सर्वसाधारण र सैनिकका आफन्त थिए। त्यसपछि सन् २०१६ मा उरीमा भएको हमलामा कम्तिमा १९ जना भारतीय सैनिक मारिएका थिए।
भारतको कश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन्। सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि नै पाकिस्तान र भारतबीच सीमा विवादका कारण कश्मिर क्षेत्र अशान्त रहँदै आएको छ।