अख्तियारद्वारा बाँके निकुञ्जका प्रमुखसहित दुई नियन्त्रणमा


अख्तियारद्वारा बाँके निकुञ्जका प्रमुखसहित दुई नियन्त्रणमा

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई रङ्गे हात पक्राउ गरेकोछ ।

विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटि आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार सहित रङ्गेहात पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

उनका अनुसार भट्टराई र रोकायका साथबाट बैङ्कमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको छ । सोमबार दिउँसो पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल स्थित अख्तियारको हिरासतमा राखिएको छ ।

अख्तियारले पछिल्लो समय प्रदेश पाँचका विभिन्न जिल्लामा निगरानी बढाएकोछ । यसक्रममा दुई साता अघि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई १६ लाख नगद सहित नियन्त्रणमा लिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

गत साता दाङ्ग तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यालाई पनि नियन्त्रणमा लिएको थियो । भेरीका खनाल र तुलसीपुरका उपाध्यायसगैं रुपन्देहीबाट पनि स्थानीय तह, वडाअध्यक्ष र कर्मचारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको सूचना अधिकारी भुसाल बताँउछन् ।

यसअघि उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवलाई पनि घुससहित पक्राउ गरेको उनले बताए । नियन्त्रणमा रहेका यी सबैजानालाई यतिबेला अख्तियारको निगरानीमा राखेर अनुसन्धान भइरहेकोछ ।