नेपालगन्ज : बाँकेका विभिन्न सरकारी कार्यालय तथा उद्योगमा बम बिस्फोट गराएको अभियोगमा अदालतबाट जेल सजाय सुनाईएको ब्यक्ति पक्राउ परेका छन् ।
तत्कालिन सशस्त्र भूमिगत समुह तराई जनतान्त्रिक मुक्ती मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही जिल्लामा हत्या, अपहरण, फिरौती माग तथा बम बिस्फोट गर्ने जस्ता विभिन्न अपराधमा संलग्न हुँदै आएका बाँके डुडुवा गाउँपालिका वडा नम्बर–६ बस्ने केशव राढलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०६८ सालको मंसिर १४ गते डुडुवा गाँउपालिका ६ का केशव राढले भूमीसुधार र मालपोत कार्यालय तथा ०६८ चैत्र ६ गते गनापुरको अधिकारी फ्याक्ट्रीमा बम बिस्फोट गराएका थिए ।
भूमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको मुद्धामा जिल्ला अदालत बाँकेले राढलाई ६ महिना जेल तथा ५ हजार जरिवानाको फैसला गरेको थियो । त्यसैगरी मालपोत कार्यालयमा बम बिस्फोट गराएको घटनामा समेत जिल्ला अदालत बाँकेले सोही प्रकृतीको सजाय सुनाएको थियो ।
गनापुरको अधिकारी फ्याक्ट्रीमा बम हानेको मुद्धाको प्रमुख अभियुक्त राढलाई जिल्ला अदालत बाँकेले ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाएको थियो ।
विभिन्न मुद्धामा अदालतबाट कैद सजाय सुनाईएका राढलाई सोमबार बाँकेको डुडुवा गाँउपालिका ६ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए ।
यसैबीच, प्रहरीले डुडुवा गाउँपालिका वडा नम्बर ५ रंगीलाल बस्ने गोविन्द श्रीपालीलाई पक्राउ गरेकोछ । बाँके कोहलपुर नगरपालिका वडा नम्बर ७ जोगीडाँडामा २०७४ असोज १६ गते जबरजस्ती करणी मुद्दामा फरार श्रीपालीलाई हिजो सोमबार पक्राउ गरिएको प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका राढ र श्रीपालीमाथि थप अनुसन्धान भइरहेकोछ ।