दार्चुला : यहाँ चार वर्षका अवधिमा महिला तथा बालिकामाथि बलात्कार भएका ३० घटना सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानेकैबाट भएको हो ।
कार्यालयका अनुसार पछिल्लो वर्षमा करणीका घटना बढ्दै गएका छन् । अझै कैयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन् । आव ०७३/७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । यस्तै आव ०७४/७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् ।
यसैगरी आव ०७५/७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव ०७६/७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका ६ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।
बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुर्व्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन् । अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन् ।
केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुर्व्यवहारका घटना जानकारी दिँदा आफू समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ । स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलेर उजुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन् । -रासस