तीजको मुखमा कोहलपुर बन्द


तीजको मुखमा कोहलपुर बन्द

नेपालगन्ज : हिन्दुहरु महिलाहरुको महान पर्व तीजको मुखमा कोहलपुर बन्द भएकोछ । समुदायमा कोरोना भाइरस संक्रमण दिनानुदिन बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिका आगामी भाद्र ५ गतेसम्मका लागि बन्द गरिएको छ ।

कोहलपुर नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै आज साउन ३२ गते शनिबार रातीदेखी भाद्र ५ गते रातीसम्मका लागि कोहलपुर पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

यही समयमा नेपाली महिलाहरुको महान पर्व हरितालिका –तीज) आगामी भदौ ५ गते परेकोछ । भने भदौ ४ गते दरखाने र त्यसको एकदिन अघि अर्थात भदौ ३ गते औंशी अर्थात वुवाको मुख हेर्ने दिन परेकोछ । चाडपर्वको मुखमा कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षमा बसेको सर्वपक्षिय बैठकले नगरपालिका कार्यालय, नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, अन्य ब्यापार ब्यवसाय, यद्योग कलकारखाना तथा हाटबजार आगामी भाद्र ५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा हस्ताक्षरित उक्त सूचनामा उल्लेखछ ।

यसअघि कोरोनाको संक्रमणको दर उच्च देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा लागु गरेको थियो । यद्यपी दुई हप्ते लामो निषेधाज्ञा र नेपालगन्ज सिल बाँके प्रशासनले हटाएकोछ ।