सन्दर्भ : बुवाको मुख हेर्ने दिन

कोरोनाकाबीच कुशेँ औंशी मनाइदै


कोरोनाकाबीच कुशेँ औंशी मनाइदै

File Photo

नेपालगन्ज : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिन्छ ।

सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।

जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले आज बाबुको मुख हेरी भाद्र कृष्ण औँसी मनाउँदैछन् । स्वास्थ अनुकूलको मिठाइ, फलाहार, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ । दिवङ्गत पिताप्रति पनि यसै दिन उत्तरवाहिनी गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बाबुको योगदानको स्मृति गर्ने प्रचलन छ ।

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

वर्षका सबै औँसी पितृको रहे पनि सबै औँशीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको ज्योतिष बताउछन । पितृ देवो भवः भनेर पितृलाई देवता समान मानिएको बताउँदै देवताले दिए पनि पितृ अप्रशन्न हुँदा ती खोसिन्छन् भन्ने मान्तयता रहेको छ ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दथ्यो । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।

आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्थ्यो । तर, यसपटक भने कोरोनाभाइरसको महामारीका कारण मेलालाई स्थगन गरिएको छ । त्यस्तै, मन्दिरलाई बन्द गरिएको छ । प्रहरीले बिहानै देखि सो क्षेत्रमा भीडभाड हुन नदिन कडाइ गरेको छ । यसअघि भरीभराउ देखिने सो क्षेत्र यसपटक भने सुनसान देखिएको छ ।

यता हरेक वर्ष पश्चिम नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा सर्वसाधरणको उपस्थिती छैन । सामान्यमात्रामा उपस्थित दर्शनार्थीहरुले बन्द बागेश्वरी मन्दिर बाहिरबाट पुजापाठ गरि फर्केकाछन् । कोरोना महामारीका कारण पहिलेजस्तो वातावरण रहेकोछैन । कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएको देश खुला भएपनि समुदायमै कोरोना फैलिएपछि जनजिवन असामान्य बनेकोछ ।