तस्विर सौजन्य
नेपालगन्ज : राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा उनको आज अन्त्येष्टि गरिएको हो ।
राष्ट्रकविको अन्त्येष्टिका क्रममा सम्मान स्वरुप नेपाली सेना र सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रकविको पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत हुन ।
यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै उच्च पदस्थ सरकारी अधिकारी, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पनि घिमिरे निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रकवि घिमिरेको निधनपछि नेपाली साहित्य क्षेत्रले एक धरोहर गुमाएको छ । नेपाली काव्यजगतका शिखर पुरुष राष्ट्रकवि विगत सात महिनादेखि विभिन्न स्वास्थ्य समस्याका कारण थलिएका थिए ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा मंगलबार बेलुका ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको हो । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा सिर्जना दिँदै आइरहेका थिए ।
तत्तकालिन राजा ज्ञानेन्द्रले उनलाई राष्ट्रकविको पदविबाट विभुषित गरेका थिए । उनको गौरी, मालती मङ्गले, राजेश्वरी, नव मञ्जरी चर्चित कृति हुन् । उनले हिमाल पारी र चारु निवन्धका लागि साझा पुरस्कार समेत पाएकाछन् ।
राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दज्र्यानी प्रदान गरेको थियो । उनले आफ्नो जन्म शताब्दीका अवसरमा ऋतम्भरा महाकाब्य सार्वजनिक गरेका थिए ।
१४ वर्ष उमेरदेखि समाज, मानव जीवन र प्रकृतीलाई टिपेर गीत र कवितामा उन्न थालेका थिए ।