आईतबार, असोज ४, २०७७   ०५:०५:५७

के तपाईको मन बुवाको मायाले रङ्गिएको छ ?


बुवाको मुख हेर्ने दिन भएकैले बुधबार खानापछि ढिलोगरि फेसबुकमा जोडिन पुगेँ । फेसबुक लगईन गरेको केही सेकेण्डमै नोटिफिकेसनले एकछिन मोबाईल नै भाइब्रेट भयो । सेकेण्डभित्र थुप्रै नोटिफिकेशन आउँदा नोटिफिकेसन साउण्ड र भाइब्रेटले अझ मलाई एकाग्र बनायो । म त्यसैमा रुमल्लिन थाले । आफ्ना बुवासगं खिचाइएका नयाँ, पुराना तस्विरसहित बुवाको मुख हेर्ने दिनको शुभकामना दिएका नोटिफिकेशनमा भ्याएसम्म प्रतिकृया जनाएँ ।

कसैले कोरोनाका कारण बुवाको मुख हेर्न आउन पाएन, कसैले कोरोनाका कारण घरमै भएकाले बुवाको मुख हेर्ने अवसर मिल्यो, कसैले सामाजिक सञ्जालबाटै शुभकामना दिए । कसैले अर्कोपटक आउने बाचा गरे । आदि ईत्यादी । जे होस् बुवाको मुख हेर्ने दिनको शुभकामना र बुवाका तस्विरले सामाजिक सञ्जाल रङ्गिएको पाए ।

थुप्रै स्टाटस, रङ्गिन तस्विरहरु छिचोल्दै जाँदा । कसैले घर न घाट बनाउने बाबु पनि के बाबु, सानैमा छाडेर जाने बाबाआमालाई पनि के सम्झनु । कसैले स्वर्गबास भएका बुवाको स्मरण गर्दै तस्विर पोष्ट्याए । कसैले तस्विर विनाको स्टाटस त कसैले आमाको तस्विर राख्दै बुवाविना आमा नै मेरा लागि बुवा अनि आमा हुन भन्दै शुभकामना र सम्झेको देखेँ । कसै–कसैले त बुवाआमाको अनुहार हेर्न आजको दिन कुर्नै नपर्ने तर्क सहितका स्टाटस पोष्ट्याएको देखेँ ।

यी क्रम चलिरहेको थियो । मनमा जिज्ञासा र कौतुहुलताले भरिएका प्रश्न मेरा मानसपटालमा उम्लिदै गए । आज बुवाको तस्विरले सामाजिक सञ्जाल रङ्गिएछ । यस्तो लाग्दथ्यो बुवाप्रतिको माया, रिस, कठोरता अनि अभाव सामाजिक सञ्जालमै आएर थाहा भयो । कठै सामाजिक सञ्जाल नभइदिएको भए के हुनेथियो ?

यही भीडबाट मैले पनि एउटा स्टाटस पोष्ट्याएँ :

आज सामाजिक सञ्जाल बुवाको फोटोले रङ्गिएला ।
के तपाईको मन बुवाको मायाले रङ्गिएको छ ?
एक दिन मात्रै होइन, सधैं आफ्नो बुवालाई माया गर्ने गरौं ।
बुवाको मुख हेर्ने दिन कुशे औशींको शुभकामना । #मल्लजी

धार्मिक र साँस्कृतिक परम्परा तथा मुल्यमान्यताले बुवाको मुख हेर्ने दिन आज नै हो । विभिन्न भाषा र संस्कृतिमा छरिएर रहेका नेपालीहरुले आआफ्नै कला संस्कृति र रितीरिवाज अनुसार बुबाको मुख हेर्ने गरेका छन् । कसैले बिहान केही नखाइकन बुवालाई ढोगेर मिठो खानेकुरा खुवाएर बुबाको मुख हेर्छन् भने कतिपयले बेलुका मनाउने गर्छन् । प्रायः नेवार समुदायले कुशे औंसी बेलुका मनाउने गर्छन् ।

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

वर्षका सबै औँसी पितृको रहे पनि सबै औँशीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेकोछ । पितृ देवो भवः भनेर पितृलाई देवता समान मानिएको बताउँदै देवताले दिए पनि पितृ अप्रशन्न हुँदा ती खोसिन्छन् भन्ने मान्तयता रहेको छ ।
बुबा अर्थात बा, पिता, बाबा । सन्तानका लागि यो शब्द कति प्रिय र मूल्यवान् छ ? यो शब्दमा व्याख्या गर्न संभव छैन । बुबा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ ।

जिन्दगीका कठिन अनि कठिन परिस्थिती नै किन होस्, अचानक ठेस् लाग्दा पनि हामी अइया बाबा (बा, बुवा) भन्छौं । यो शब्द भित्रबाट अनायस निस्किन्छ । न कसैले सिकाएको हुन्छ, न कसैले अह्राएको हुन्छ । मानौं यो एउटा सुपर पावर हो, जसबाट हामीलाई गजबको प्रेरणा प्राप्त हुन्छ अनि अगाडि बढ्ने साहस मिल्छ । मार्गदर्शन दिन्छ ।

बुबा, बाबा, पिता, पापा, बप्पा, अब्बु, ड्याडी, फादर । हामी अनेक शब्दले उनलाई सम्बोधन गर्छाैं । तपाई मान्नुस् वा नमान्नुस हरेक सन्तानको पहिलो हिरो हो बुबा ।

चाहे छोरा होस् वा छोरी सबैका लागि बाबा प्यारो र पुजनीय हुन्छ । यो कालजयी अजम्बरी छ । बुवाले आफ्ना सन्तानलाई माया र संरक्षण मात्र होइन, संघर्ष गर्न पनि सिकाउँछन् । कति दुःख, पीडा लुकाएर अनि अनेक अपजस र अपमान पनि चुपचाप सहेर बुवाले सन्तानलाई खुसी बाँड्ने प्रयास गरिरहेको हुन्छन् ।

घरमा केही समस्या आइपरे वा तपाईमाथि केही दुःख, कष्ट परे बुवाले त्यसको प्रतिकार मात्र होइन समस्या समाधान समेत गर्नुहुन्छ । संसारमा जन्म लिनु ठूलो कुरा होइन । जन्मेर बाँच्नुको अर्थ के हो ? आफ्ना सन्तानलाई हरेक बुवाले यही सिकाउने प्रयत्न गर्छन् । बुबा आमाको असल साथी मात्र होइन, सृष्टिको पहरेदार पनि हुन् । हिन्दु ग्रन्थ अनुसार गुरु, माता र पितालाई भगवानको मानव रुप भनिन्छ । बुवा, पिता अनेक शब्द तर, एकै रुप हुन् । रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने व्यक्तिलाई बुबाको रुपमा परिभाषित गरिएको छ ।

तर, पछिल्ला दिनमा यसलाई संस्कृति वा परम्पराभन्दा पनि फेसनका रुपमा भड्किलो हिसाबले प्रदर्शन गर्ने चलन खुबै बढेको छ । खासगरी सामाजिक सञ्जालमा बाबुसँगको सेल्फी तथा बाबुलाई उपहार दिएको फोटो राखेर बनावटी पिता प्रेम प्रदर्शन गर्ने अभ्यास शुरु भएको छ, त्यसैले कुशे औंशीको महिमा गिराएको तर्क गर्नेहरुको जमात बढ्दैछ ।

फेसबुक, ट्विटर र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा बुबासँगको सेल्फी राखेर ‘ह्यापी फादर्स डे’ ‘मेरो पहिलो गुरु’, ‘मेरो पहिलो माया’ लगायतका स्टाटस लेखेर फेसन गर्नुभन्दा यसलाई सांस्कृतिक रुपमै आआफ्नो परम्पराअनुसार मनाउनु उचित हुन्छ ।

कोरोना महामारीका कारण यतिबेला आम सर्वसाधरण बढि समय घरमै विताइरहेकाछन् । उनले आफ्ना बुवाआमालाई कत्तिको सघाएका छन् ? कतिको समय दिएकाछन् ? उनका कारणले बुवाआमाको मुहार हसिलो भयो की भएन ? यो सबै अन्तरआत्माबाट मूल्यांकन गर्नुपर्दछ । कोरोना भाइरसका कारण बजार, उद्योग, कलकारखाना, अफिस, कार्यालय, व्यवसाय, यतायात सबै ठप्पछ । जसका कारण गन्तब्यमा पुग्न परको कुरा टेलिफोन र सामाजिक सञ्जालबाटै बुवाको मुख हेर्ने दिनको शुभकामना कतिपयले दिएकाछन् । यो एउटा माध्यम हो तर, यही माध्यममा सिमित रही बाबु आमासँग भरपूर समय विताउने, उनलाई सघाउने, उनको भावना बुझ्ने भन्दा पनि फेसनका रुपमा चर्चा बटुल्ने काम भइरहेकोछ ।

बुवाआमाको सम्झनाका लागि कुनैपनि माध्यम लिन सकिन्छ । बुवाआमा गुमाएकाहरुको हकमा सम्झाना र यादका लागि तस्विर एउटा विकल्प हो त्यसमा यी पंक्तिकारको कुनै आपत्ती रहेन । यसबाट पनि हामी केही प्रष्ट हुनसक्छौं ‘जात्रामा सिँगारिएर राखिएको डोको पनि सुन्दर दुलही सरह लाग्छ ।’

कतिपयले बुवाआमालाई बृद्धाआश्रममा राखेर, घरमै बसेका बुवाआमालाई तुक्ष ब्यवहार गर्नु अनि बाहिर आदर्शका गफ फलाक्नेहरु नै समाजका असली शत्रु हुन् । जिउँदोमा एक गिलास पानी नदिनेहरु मर्दामा श्राद्ध गर्ने भनेझैं । यो आफ्ना आमाबुवा प्रतिको औपचारिकता र खोक्रो ध्वाँस मात्र हो ।

मेरो बुवा को हुन् भन्दा पनि मेरो भित्री मनको दृष्टिकोणमा बुबाको स्थान के भन्ने बढी महत्वपूर्ण छ । त्यसकारण हामीले यो बुझ्न जरुरी छ कि हाम्रो परिवारभित्रको ज्येष्ठ व्यक्तित्व हजुरबा, हजुरमा, आमा र बालाई वर्षदिनमा एक पटक भित्तेपात्रोको तिथीलाई औपचारिकता दिनका लागि मात्र सम्झेर पुग्दैन । अनि आफ्ना बा, आमालाई माया गर्नका लागि ‘कुशे औंशी र मातातीर्थ औंशीनै कुरीरहनुपर्छ भन्ने सोँच त्याग्नुपर्छ । समाजमा देखाउनका लागि फेसबुके मायाले वर्षौदेखि परिवारबाट टाढीएर बृद्धाश्रममा एकान्त जीवन बिताइरहेका हाम्रो बाबुको मनभित्र लागेको डढेलो निभ्दैन ।

जीवनपर्यन्त सन्तानको सुखका लागि दुःख अंगालीरहँदा पनि मुस्कुराईरहने बाबुहरु अहिले पछिल्लो समय पश्चिमा संस्कृतिको सिकार हुन थालेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतमा सम्पादन गरिएका सजाइएका चिल्ला तस्वीरहरु पोष्ट गरी ‘आई मिस यु, ‘लभ यु पापा’ जस्ता क्याप्सन लेख्नेहरुको धुईरोछ । यीनीहरुले नै उमेरले डाँडापारी लागेको घाम झैं आफ्ना बृद्ध बुवाआमालाई बृद्धाश्रममा कोचेका हुन्छन् । बृद्धाआश्रमको चिसो सिमेन्टीमा आँशुका बलिनधाँरा बगाउँदै सन्तान भएपनि नभएसर बन्नुको पीडा कति हुदाँे हो सजिलै अनुमान लगाउन सक्दिन ।

त्यसैले त सामाजिक सञ्जालमा इडिट गरिएका रंगिन चिल्ला सजिएका तस्विरहरुले गिज्याइरह्यो । यो भनिरहँदा मेरा बुवाआमा मात्र असल वा मैले मात्र आफ्नो कर्तब्य पुरा गरेको छु भन्ने भान भएको होला । तर त्यसो होइन । सत्य कुरा बोल्दा कसैलाई पोल्छ भने पोलुस् । मैले त वर्तमान कटुयथार्थलाई चित्रण मात्र गरेको हुँ ।

अमेरिकाका प्रसिद्ध कवि रोबर्ट फ्रोस्टले भनेकाछन् –‘आमाको माया पाउन तिमी योग्य हुनुपर्दैन तर, बाबुको माया पाउनका लागि तिमी योग्य हुनैपर्छ ।’

हो आमाले सन्तानलाई माया गर्नुमा भावनात्मक सम्बन्ध रहन्छ तर, बाबुले सन्तालाई माया गर्नुमा केही स्वार्थ रहन्छ । त्यो स्वार्थ भनेकै सन्ततीको उज्वल भविष्य हो । बाल्यकालमा तातेतातेको हरेक पाईला हुदै कपुरी ‘क’ अनि आफूमा भएसम्मको सबै शिक्षा र अनुभव बाँडेर स्वावलम्बी बनाउन सिकाउने बाबुहरुलाई बिर्सने संस्कारलाई पश्रय दिने बैगुनीहरुकै ठूलै रवाफ र ढोंग छ ।

यस्तै अमेरिकी नायिका लिजा मिन्नेली भनेकी छन्–‘बुबाले मलाई सपना दिनुभयो, जसबाट मैले आफ्नो भविष्य देख्न सकेँ’ हरेक पाईलामा आफूलाई विर्सेर सन्ततीप्रति समर्पित बाबुको अपार योगदान कहिले बुझ्ने हामी महान पिताका देखावटी खोस्टे पूजारीहरुले ?’

बुवाको मुख हेर्ने दिन बुवाले गरेका त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने अवसर हो । जन्मदेखि सन्तानको लालनपालन तथा उज्वल भविष्यको लागि बुवाले धेरे संघर्ष गरेका हुन्छन् । आफ्नो छोराछोरीको खुसीका लागि एउटा बाबुले यति धेरै संघर्ष गरिरहेका हुन्छन्, एक दिन मुख हेरेर त्यसको क्षतिपूर्ति कदापी हुनसक्दैन । बुवाको मुख हेर्ने दिनको सबैजनामा शुभकामना ।