२५ पदका लागि ६४ उम्मेदवार, अध्यक्षमै ९ जनाको दावी
नेपालगन्ज : चैत्र १६ गते हुने कानून व्यवसायीहरुको चुनावका लागि बाँकेका चर्चित कानून व्यवसायी सुनील कुमार श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदारी दर्ता गराएका छन् । प्रजातान्त्रिक कानून व्यवसायीका तर्फबाट उनले प्रदेश पाँचको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएको सद्भावलाई जानकारी दिए ।
यसैबीच सोमबार कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएनको २५ औं केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गरिएकोछ । एशोसिएसनको अध्यक्षपदका लागि ८ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र १४ सदस्य गरी २५ पदका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।
एशोसिएनको नयाँ नेतृत्वका लागि मुख्य गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीनिकट कानून व्यवसायी र नेपाली का“ग्रेस निकट कानून व्यवसायीबीच मुख्य प्रतिस्पर्धा छ । दुबैले अन्य साना दल निकट कानून व्यवसायी संस्थासँग मिलेर गठबन्धन बनाएका छन् । काँग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) ले राजपा नेपाल र राप्रपानिकटका कानून व्यवसायी संगठनसँग गठबन्धन गरेको छ । काँग्रेस निकट समूहले डेमोक्रेटिक मधेसी, आदिवासी जनजाति तथा पेशागत समूह नाम दिएका छन् ।
नेकपा निकट कानून व्यवसायी संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) ले संघीय समाजवादी फोरम र प्रोग्रेसिभ लयर एशोसिएसनसँग गठबन्धन गरेको छ । उसले गठबन्धनको नाम प्रगतिशील, पेशागत तथा समावेशी समूह नाम दिएको छ ।
एशोसियसनको नयाँ नेतृत्वका लागि गठबन्धन बाहिरबाट पनि उम्मेदवारी परेको छ । बारको अध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा नेकपा निकटका एनएलए समूहका चण्डेश्वर श्रेष्ठ, काँग्रेस निकट डेमोक्रेटिक मधेसी, आदिवासी जनजाति तथा पेशागत समूहबाट सुनीलकुमार पोखरेल उम्मेदवार रहेका छन् । त्यस्तै डा. पुण्यप्रसाद खतिवडा, विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुंगाना, लोकेन्द्रध्वज खाँड, गजेन्द्रबहादुर थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
८ जना उपाध्यक्षमध्ये महिला उपाध्यक्षमा एनएलएबाट रक्षा बस्याल र डीएलएबाट कविता थापाले उम्मेदवारी दिएका छन् । प्रदेश १ उपाध्यक्षमा एनएलएबाट मानबहादुर रुम्दाली र डीएलएबाट डिल्लीबहादुर कार्कीको उम्मेदवारी परेको छ । प्रदेश २ उपाध्यक्षमा एनएलएबाट रामचन्द्र सिंह र सुधीरकुमार कर्ण उम्मेदवार छन् । कर्ण राजपा निकट कानून ब्यवसायी हुन् जसलाई काँग्रेस निकटको डीएलएले समर्थन गरेको छ ।
प्रदेश ३ उपाध्यक्षमा एनएलएबाट ईश्वरीप्रसाद भट्टराई, डीएलएबाट राजेश्वर अधिकारी र भुपेन्द्रप्रसाद पोखरेलको उम्मेदवारी परेको छ । गण्डकी प्रदेश उपाध्यक्षमा एनएलएबाट सुरेन्द्र थापामगर र डीएलएबाट निरन्जनलाल राजभण्डारी, प्रदेश ५ उपाध्यक्षमा एनएलएबाट लीलाधर मरासिनी र डीएलएबाट सुनीलकुमार श्रेष्ठको उम्मेवारी परेको छ । कर्णाली उपाध्यक्षमा एनएलएबाट मीनबहादुर महत र डीएलएबाट उत्तमप्रसाद आचार्य, प्रदेश ७ उपाध्यक्षमा एनएलएबाट उमेशप्रसाद विष्ट र डीएलएबाट ठेकेन्द्रराज जोशीको उम्मेदवारी परेको छ ।
महासचिवमा एनएलए समूहबाट सुरेन्द्रबहादुर थापा र डीएलए समूहबाट लीलामणि पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै रामहरि त्रिपाठीले पनि महासचिवमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा एनएलए समूहका रुद्रप्रसाद पोखरेल र डीएलए समूहका तेजबहादुर रावलको उम्मेदवारी परेको छ ।

त्यस्तै सदस्यहरुमा दलिततर्फ मोहन साशंकर र रामनारायण विश्वकर्माको उम्मेदवारी परेको छ । मधेसी र मुस्लिम दुई पदका लागि पञ्चनारायण मण्डल, शेरमण यादव, वीरेन्द्रकुमार ठाकुर र मनोजकुमार चौधरीको उम्मेदवारी परेको छ । आदिवासी जनजाति दुई पदका लागि कल्पनाकुमारी भण्डारी, शिवाली जोशी, अञ्जु कायस्थ, सोनी रघुवंश र अनिता जधारीको उम्मेदवारी परेको छ ।
खुला क्षेत्रका ७ पदमा १७ जनाको उम्मेदवारी परेको छ । जसमा डीएलए समूहबाट गोविन्दप्रसाद सिग्देल, रमेशकुमार ढकाल, कृष्णभुषण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेकप्रसाद सुवेदी उम्मेवार छन् । त्यस्तै डा. शिवराज पण्डित, चुरामणि भुसाल, गंगासागर खत्री, भीमसेन वञ्जरा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, वालकृष्ण गैरे, खिमानन्द अधिकारी, रामबहादुर मिजार र कविता शाहको पनि उम्मेदवारी परेको छ ।
चुनावी कार्यक्रम यस्तो छ
आगामी महिना चैत्र १६ गते हुने बारको चुनावी कार्यतालिका तय गरिएकोछ । मतदानका लागि देशका विभिन्न जिल्लामा ३५ वटा मतदान केन्द्र तोकिएको छ । जसमा बाँकेको नेपालगन्ज पनि एक हो । उम्मेदवारी दरखास्तमा दाविविरोध गर्ने समय फागुन ८ गते दिउँसो १ बजेसम्म तोकिएको छ । दावीविरोध जाँचबुझपछि दोस्रो नामावली प्रकाशन फागुन ८ गते दिउँसो ४ बजे गर्ने निर्वाचन समितिले जनाएको छ ।